आँधीमूल हैन आँडीमूल

समाधान संवाददाता २०७७ फागुन १५ गते १८:१९

आँबुखैरेनीको आँडीमूलमा दलित, मगर, गुरुङले मन्दिर बनाए, पुजारी मगर छन्, सबै जातिको उत्तिकै आस्था छ ।

अनिष भट्टराई, पोखरा

पृथ्वी राजमार्गबाट केहीमाथि सानो वनको बीचबाट सिँढी बनाइएको छ । बार्दलीसहित गोठ बाटोमा भेटिन्छन् । आँबुखैरेनी सत्रसय फाँटबाट उकालो लाग्नेबित्तिकै सुनिन्छ चराचुरुङ्गीको चिरबिर । केही माथि गएपछि बल्ल देखिन्छ बस्ती ।

बाटामुनि छन् घरहरु । निर्माणाधीन बाटो अहिले धुलाम्मे छ । धुलोले घरका नीला टिन खैरो बनेका छन् । जताततै बाटैबाटा बनाइएका छन् ।

सत्रयसबाट ३ दशमलव ३ किलोमिटर पार गरेपछि शान्त, धुलोले नछोपेको, शीतल ठाउँ पुगिन्छ । समुद्री सतहबाट ६ सय मिटरमाथिको आँडीमूलमा एउटा एउटा मन्दिर छ । एउटा ठूलो मन्दिरभित्रै ३ वटा ससाना मन्दिर छन् । मन्दिरतल पोखरी छ । पोखरीबाट २२ धारा निकालिएका छन् ।

‘एक आमाछोरी गोरु चराउन गएछन् । चराउँदै जाँदा छोरी तिर्खाइछन् । छोरी तिर्खाएपछि आमापाती घारी कटेर छोरीका लागि पानीमूल खोज्दै हिँडिन् । एक कुनामा आमाले पानी रसाएको देखिछन् । अनि छोरीलाई मगर भाषामा भनिछन्, ‘आँ डी ।’ मगर भाषामा डी भनेको पानी हो ।

त्यसैले पछि बोल्दै जाँदा यो ठाउँको नाउँ आँडी मूल हुन पुग्यो । आँधी नै आएपनि जोगाउने ठाम पनि भन्छन् अनि यसलाई ।’यो कथा सुनाए आँडी मूलको मन्दिरमा भेटिएका जोगबहादुर थापा मगरले ।

तल पोखरीमा पानी छल्किरहन्छ । माछाहरु आफ्नै गतिले पौडिरहँदा जोगबहादुर पनि यही ठाउँको कथामा डुबुल्की लगाए । उनको दिन आँडीमूलमै बित्छ । बिहान ६ बजे आँडीमूल आइपुग्छन् । मन्दिरमा दियो बाल्छन्, कसेर बडार्छन् । केहीबेर पोखरीका माछा हेर्छन् । मन्दिर पूर्वपट्टिको मैदानमा सुसेली हाल्दै बस्छन् । भक्तहरु आएपछि फेरि मन्दिर जान्छन् ।

बिहान दियो जलाएदेखिआरतीनगरेसम्म घर फर्किँदैनन् ।जोगबहादुरको यस्तोदिनचर्यामा २१ वर्ष बित्यो । जिन्दगीका ५८ हिउँदबर्खा गरिसकेका उनको जीवनको उर्वर उमेर यही मन्दिरमै बितेको छ । ‘पैसा त कहिले पाउँछु, कहिले पाउँदिनँ, कहिले त आरती गर्ने तेल आफ्नै खल्तीको पैसाले किन्नुपर्छ,’ उनले सुनाए ।

आँडीमूलको नाम कसरी रह्यो भन्नेबारे उनले आफूले जानेजति बुझाउने प्रयास गरे । आँडीमूलको बारेमा इतिहास सुनाइसकेपछि उनले फेरि भने, ‘यो मन्दिरको इतिहास अर्कै छ नि, मैले त ठामको मात्रै भनेको हो ।’

मनकामना देवीकी दिदी त्यो ठाउँ हुँदै मामाघर जाँदा बाघले आक्रमण गरेर मर्दा माछाले केही भाग खाएपछि उनी कालदेवीको रुपमा त्यहाँ स्थापित भएको किम्वदन्ती उनले सुनाए । ‘यो देवीले त सबै भोग खाइदिन्छिन्, कुखुरा, खसी सबै,’ जोगबहादुरले भने ।

आँडीमा एउटा मन्दिर हालसालै बनेको छ भने दुई मन्दिर केही पुराना छन् । त्यहाँका ३ मन्दिर आँडीका सबै समुदाय मिलेर बनाएका रहेछन् ।

अन्तिमपटक बनाइएको मन्दिर २०५२ सालमा ईन्द्रबहादुर मास्की मगरले बनाएको शिलालेख छ । पुराना भनिएका मन्दिर स्थानीय २ महिलाले बनाएको बताइन्छ ।

सुरुमा पाकुली दमिनीले त्यहाँ मन्दिर बनाइदिएको जोगबहादुरले बताए । पाकुली दमिनीको निधन भइसकेको र आफू मर्ने बेलामा कोही नभएकाले मन्दिर बनाएर स्वर्ग गएको जोगबहादुरविश्वास गर्छन् ।

‘भुजेल, मगर, गुरुङ, दमाइ सबैले बनाएको हो, पहिलाबाट नै सबैजना मन्दिर छिर्न पाउँथे, दमाइले नै बनाएसि रोक्ने कुरा नि आम्थेन,’ जोगबहादुरले सुनाए ।

मन्दिर परिसरमा एउटा रुखको ठुटो छ । सुरुमा मन्दिर नहँुदा स्थानीयले रुखमा पूजा गर्थे । अहिले त्यहाँ गोरखा, लमजुङ, स्याङ्जाबाट दर्शनार्थी पुग्छन् । शनिबार भक्तहरुको घुइँचो लाग्छ । ४÷५ वटा बसमा भक्तजन आउने गरेको जोगबहादुरले बताए । ‘अहिले त पूरै परिवर्तन भइसक्यो, पहिला त पातीपाती हुन्थ्यो,’ जोगले भने ।

पातीको ठूलो झाडी थियो । गाउँलेले शनिबार÷शनिबार पाती काटेर बाटो सफा त गर्थे । तर सत्रसयबाट नै हिँडेर जाँदा बाघ र अरु वन्यजन्तुको डर हुन्थ्यो । एक्लै हिँड्न प्राय गाउँले डर मान्थे । अहिले गण्डकी प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयको बागडोर सम्हालिरहेका हरिबहादुर चुमान यसै ठाउँका हुन् । युवावस्थामा हुँदा चुमानलाई लाग्थ्यो कि, ‘यहाँ बाटो बनाउन सके त ठाउँ नै कायापलट हुन्छ ।’

चुमानले जिल्ला विकास समितिमा ८÷९ वर्ष पार्टी प्रतिनिधि भए । आफूले त्यति बेला विकासभन्दा पनि संरक्षणको काम गरेको बताउँछन् । ‘त्यो बेला बजेट पनि धेरै हुन्थेन, विकासको काम त भएनन्, संरक्षण ग¥र्यौं,’ उनले सुनाए ।

खड्गबहादुर विश्वकर्मा पर्यटनमन्त्री हुँदा आफूले निकै जोडबल गरेर बजेट पारेको चुमान सम्झन्छन् । बाटो बनाउन आफूले निकै पहल गरेपछि बजेट प्राप्त भएको र त्यसैले बाटो चिनिएको उनले सुनाए ।

‘यो बाटो २ रुपैयाँले चिठिएको (चिनिएको÷निर्माण गरिएको) हो, अहिले यस्तो अवस्थामा ल्याइपु¥यायौं,’ उनले भने । मन्त्री चुमानले भनेझैं बाटो २ रुपैयाँले चिठिएको चाहिँ होइन । उनको यो ठट्टा थियो । ‘२ रुपैयाँमात्रै भएपनि हाल्दिनु भनेर धेरै कर गरेपछि काम भएकाले २ रुपैयाँले चिठेकोभनेको हुँ,’ उनले सच्च्याए ।

अहिले भने गाउँपालिका आफैंले बाटो कालोपत्र गर्ने योजना अनुसार त्यहाँ काम भइरहेको छ । अघिल्लो वर्ष सम्झौता भएअनुसार गाउँपालिका आफैंले बाटो बनाइरहेको हो । ३ लाख १५ हजारको रुपैयाँको लागतमा अकला सहकारी टोलबाट आँडीमूल जोड्ने काम अहिले भइरहेको छ ।

आँडीमूलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बिहीबार स्थानीयसँग अन्तक्र्रिया गरेको थियो ।

‘आँडीमूलको विकासमा सञ्चारको भूमिका’ अन्तक्र्रियामा वडा पदाधिकारी, स्थानीय, पर्यटनकर्मीआँडीमूलको नाम अपभ्रंस गरिएकोमा चिन्तित देखिन्थे । आँडीमूललाई आँधीमूल भनेर प्रचार गरिएकोमा उनीहरुको रोष थियो ।

आँबुखैरनी गाउँपालिका–१ का वडाध्यक्ष किसन थापाले सरकारी अभिलेखमा ठाउँको नामलाई सच्याउन आग्रह गरेपनि पूरा नभएको सुनाए । आँडीमूलको नाम केबल ठाउँको नाममात्र नभएर मगर जातिको भाषा, ठाउँको इतिहाससँग पनि जोडिएकाले ठाउँको नामलाई सच्च्याइनुपर्ने उनको माग थियो ।

पर्यटनकर्मी हरिसिंह गुरुङले आँडीमूललाई आँडीमूल नै भनेर प्रचार गरिनुपर्ने सुनाए । ‘ठाउँको जुन विशेषता हो, त्यही अनुसार प्रचार गरिनुपर्छ, अझ आँबु गण्डकीको मुख्यद्वार भएकाले यसले पछि राम्रो प्रचार पाउनुपर्छ,’ उनले भने ।

तर आँडीको संरक्षणमा स्थानीय तह केही कमजोर देखिन्छ । त्यहाँ नेटवर्कको समस्याले पर्यटकहरु आजित बन्छन् । जानेबाटो निर्माणाधीन भएपनि कामको गतिले अहिलेसम्म रफ्तार समाउन सकेको छैन । अझै ७५० मिटर बाटो कालोपत्रे हुन बाँकी रहेको पालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरलले जनाए ।

प्रदेश सरकारले आँडीलाई गण्डकीका प्रमुख ११० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । अब मूलको संरक्षण गरेर आँडीको प्रचारमा सहयोग गर्ने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले वाचा गरे ।

शिक्षक कमल सापकोटाले गीतमार्फत आँडीको बयान गरे । आँडीको संरक्षण र विकासमा उतिसाह्रो ध्यान सरकारी तहले नदिएको उनले गीतमार्फत सुनाए ।

हिँडेर गए लाग्छ पौने घन्टा
आएपछि मन जाँदैन अन्त
चारैतिर डाँडैकाँडाबीचमा सानो खोंच
यो ठाउँको प्रवद्र्धनमा जगाऔं अब सोच
यताउता माछी खेल्ने ताल
यति सुन्दर सम्पदालाई जोगाऔं सालसाल

तपाईको प्रतिक्रिया