‘पहिला बोलेका कुरा सुन्छु, अनि साथमै हुनुहुन्छ भन्ने लाग्छ’

समाधान संवाददाता २०७७ फागुन १६ गते १८:१८

अनुप पौडेल, पोखरा

रवीन्द्र नभएको २ वर्ष भइसक्यो । तर विद्या भट्टराई (अधिकारी) लाई श्रीमान रवीन्द्र अधिकारी साथमै छन् भन्ने लाग्छ ।

जब चाडपर्व र फागुन १५ आउँछ अनि उनी भ्रममुक्त हुन्छिन् । एकान्तमा हुँदा कहिलेकाहीँ झल्यास्स याद आइहाल्छ । अनि, पुराना तस्बिर, लेख र अन्तर्वार्ता खोज्न थाल्छिन् ।

Advertisement

‘पहिला बोलेका कुरा सुन्छु, ती कुराले अहिले पनि साथमै हुनुहुन्छ भन्ने लाग्छ । जब यस्तो दिन (चाडपर्व र १५ फागुन) आउँछ अनि हकिकत नै बोल्छ नि,’ विद्या भावुक देखिइन्, ‘यो बेला असाध्यै पीडा हुन्छ । बल्ल एक्लै छु भन्ने अनुभव गर्छु ।’

२ वर्ष पहिला १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रसहित ७ जनाले ज्यान गुमाएका थिए ।

Advertisement

उनै नेता अधिकारीलाई सम्झनेहरु दोस्रो स्मृति दिवसमा शनिबार साँझ पोखरा १८ जामुनबोटमा जम्मा भए । त्यहाँ बनाइएको उनको सालिकमा माल्यार्पण गरे, दीप प्रज्ज्वलन गरे ।

अरुलाई उत्प्रेरित गर्ने रवीन्द्रको व्यवहार देखेर विद्या पनि नतमस्तक हुन्थिन् । ‘जीवन भनेकै संघर्ष हो, संघर्षसँग डराउनुहुँदैन । लाञ्छना, आरोप भन्ने आइरहन्छ । विचलित हुनुहुँदैन भन्नुहुन्थ्यो,’ उनले भनिन् ।

त्यसपछि विद्या केहीबेर पत्रकारसँग कुरा गर्न तयार भइन् । ‘उहाँ मेरो जीवनको असाध्यै राम्रो साथी हो । अहिले पनि मलाई श्रीमान् हुनुहुन्नभन्दा पनि मेरो एउटा साथी गुमेको छ भन्ने महसुस हुन्छ,’ विद्याले सुनाइन् ।

सक्रिय राजनीतिमा रहेकी विद्या विवाहपछि राजनीतिबाट टाढिएकी थिइन् । रवीन्द्रको निधनपछि उनी फेरि राजनीतिमा छिन् । गत वर्ष १४ मंसिरमा भएको उपनिर्वाचनमा उनी रवीन्द्रले जितेकै ठाउँबाट प्रतिनिधिसभा सदस्यमा चुनिइन् ।

अरुलाई उत्प्रेरित गर्ने रवीन्द्रको व्यवहार देखेर विद्या पनि नतमस्तक हुन्थिन् । ‘जीवन भनेकै संघर्ष हो, संघर्षसँग डराउनुहुँदैन । लाञ्छना, आरोप भन्नेआइरहन्छ । विचलित हुनुहुँदैन भन्नुहुन्थ्यो,’ उनले भनिन् ।

रवीन्द्र एक्लै भए पनि बाँच्न सक्छु भन्ने आँट हुनुपर्छ भनेर विद्यालाई सुझाउँथे । भौतिक शरीर नभए पनि रवीन्द्रको विचारले आफूलाई हरपल नेतृत्व गरिरहेको विद्या बताउँछिन् ।

दोस्रो र तेस्रो पुस्ताका नेतामा पहिलो पुस्तालाई द्वन्द समाधान गर्न सुझाव दिने हिम्मत नभएको उनको दाबी छ । विद्याका अनुसार यो मामलामा रवीन्द्र अपवाद हुन् ।

‘उहाँको भूमिका जहिल्यै संयोजनकारी नै हुन्थ्यो । द्वन्द्व भए यसरी अगाडि बढौँ भनेर सुझाव दिनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले दोस्रो पुस्ता, तेस्रो पुस्तामा नेताहरूसँग सहजीकरण गर्न सक्ने क्षमता छैन । उहाँजस्तो आठ/दश जना भएको भए पार्टीमा समस्या नआउन सक्थ्यो भन्ने लाग्छ ।’

अनेरास्ववियुमा २०५५ सालताका केन्द्रीय सचिव, त्यसअघि महिला विभाग प्रमुख भएर विद्याले काम गरिन् । त्यसअघि पनि उनी पार्टीका विभिन्न संगठनमा रहिन् । तर, २०५६ सालमा विवाहबन्धनमा बाँधिएसँगै सक्रिय राजनीतिबाट टाढा भइन् ।

झण्डै दुई दशकपछि रवीन्द्रले जितेकै ठाउँबाट सांसद बनेर सक्रिय पुनरागमन गरेकी विद्या राजनीतिमा रवीन्द्रसँग आफूलाई तुलना गर्न चाहँदिनन् । ‘म राजनीतिक आवरणभित्र थिएँ तर सक्रिय भएर लागेकी थिइनँ । त्यसैले उहाँको र मेरो तुलना नै हुन सक्दैन,’ उनले भनिन् ।

पानीले मैनबत्ती बल्न दिइरहेको थिएन । दाइ रवीन्द्रको सम्झनामा बिमलाको मन बिहानैदेखि भारी भइरहेको थियो । उनी आकाशबाट बर्सिरहेको पानीको बेवास्ता गर्दै भारी मनसहित दाइको सालिकमा मैनबत्ती जलाइरहेकी थिइन् ।

रवीन्द्रसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको शनिबार २ वर्ष पुग्यो । ‘उहाँ हुनुहुन्न भन्ने लाग्दैन । कहिलेकाहीँ शून्यता महसुस गर्छु । आज दिनभर मन गरुंगो छ,’ उनले शनिबार साँझ सुनाइन्, ‘हिजोअस्ति यस्तो भएको थिएन । साथमा नभए पनि उहाँको साहसले मलाई प्रेरित गर्छ ।’

दाइ रवीन्द्रको सम्झनामा मैन बाल्दै बिमला

दुर्घटनाभन्दा ३ दिन पहिला रवीन्द्रका कान्छा छोरा स्वराजको जन्मदिन थियो । अन्तिमपटक त्यहीँ भेटेकी थिइन् बिमलाले, तर राम्रोसँग कुरा हुन पाएन । रवीन्द्रलाई वाइडबडीमा भ्रष्टाचार गरेको भन्ने आरोपले बिमलालाई सताइरहेको थियो ।

‘मैले केही गरेको छैन, तिमीहरु ढुक्क हुनू । राजनीतिक उचाइमा गयो भनेर हतोत्साही गर्न अरुले यस्तो गरेका हुन् । उनीहरुलाई कामले जवाफ दिन्छु भनेर बारम्बार भन्नुहुन्थ्यो,’ बिमलाले सुनाइन् ।

तडकभडक नगर्ने रवीन्द्रको बानी, सामान्य खानपान बिमलाको मानसपटलमा अझै ताजै छन् । रवीन्द्र सानैबाट राजनीतिमा लागे । समयसँगै राजनीतिक उचाइ र व्यस्तता बढ्दै गयो । घरमा समय कमै बिताउँथे । तर, चाडपर्वलाई भने निकै महत्व दिन्थे ।

‘तीज र तिहारमा खुब याद आउँछ । अरुबेला समय दिन पाउनुहुन्थेन, तर विशेष तीज, दसैं, तिहार र तीजमा उहाँसँग बस्थ्यौं,’ उनले मधुरो स्वरमा सुनाइन् ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले रवीन्द्र स्मृति ग्रन्थ लोकार्पण गर्ने तयारी गरिरहेको छ । २१ फागुनमा काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ८ सय पेजको रवीन्द्र स्मृति ग्रन्थ लोकापर्ण गरिने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।

उनका अनुसार त्यो ग्रन्थमा राजनीतिक, पारिवारिक र साहित्यिक क्षेत्रका १ सय ५० जनाको विचार, संस्मरण र लेख समेटिएको छ ।

तपाईको प्रतिक्रिया