पोखरा आइपुगे प्रधानमन्त्री ओली

समाधान संवाददाता २०७७ फागुन १७ गते १२:५१

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन् ।

अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि सोमबार सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला हुँदैछ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली साढे १२ बजे पोखरा विमानस्थल ओर्लिएका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे ।

अब प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

Advertisement

शिलान्यास कार्यक्रममा सहभागी भएर कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।

सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट मैदान निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्विमिङ पुललगायत आयोजनाका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिफ्रिङ गर्ने छ ।

Advertisement

पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्विमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमन्त्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनुहुनेछ ।’

ओली आज सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आमसभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिएपछि आमसभा पनि स्थगित भएको थियो ।

प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँतहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओरार्दै छ । संसद बिघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।

पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीलेमापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

त्यसबाहेक जिल्ला समन्वय समिति पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

तपाईको प्रतिक्रिया