पहिले पैदल नअडिने भिरमा अब मोटर सरर

समाधान संवाददाता २०७७ फागुन १८ गते ११:२७

राकेश शर्मा, म्याग्दी

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजाका दलबहादुर गर्बुजा ९६ वर्ष पुगे । उनी अहिले अरुको साहारा नलिएसम्म हिँडडुल गर्नसमेत सक्दैनन्, पहिलोपटक बेनी बजारमा मोटर देखेका उनले अहिले आफ्नै आँगन नजिकमा आएरको मोटर बाटो गर्न पाए ।

‘पहिला बस आएको छ रे भनेर बस हेर्न नै बेनी बजार पुगिन्थ्यो अहिले त आफ्नै घरसम्म आएको देख्दा सपना जस्तै लागेको छ,’ उनले भने, ‘अहिले नै बस आउँछ भनेर सोचेको पनि थिइन, तर अहिले आफ्नै गाउँसम्म आएको मोटर बाटोको उद्घाटन आफैंले गर्दा सपना जस्तै लगेको छ ।’

Advertisement

गर्बुजामात्र होइन कुइनेमंगले ८ की ९३ वर्षीया उडिमा कमिनीले पनि बसमा चडेर बजारसम्म जान पाइन्छ भनेर सोचेको थिइनन् । भन्छिन्, ‘मौवाफाँटसम्म आएको थियो तर यो अक्करे भिर छिचोलेर कुइनेमा बाटो आउँछ अनि बस चढेर बजार जान पाइन्छ भन्ने कुरा सपना जस्तै लाग्यो ।’

दर्मिजाका दलबहादुर गर्बुजा र उडिमा कमिनी मात्र होईनन् रघुगंगा ७ चिमखोलाकी १० वर्षीया लिस्मा पुन पनि मौवाफाँट–दग्नाम–दर्मिजा, चिमखोला हुँदै कुइनेमंगले जोड्ने सडक उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भनिन् ।

Advertisement

‘पहिलापहिला स्कुल अनि कतै कार्यक्रममा जाँदा ठूला मान्छेलाई मात्र अतिथि बनाएको सुनेकी र देखेकी थिएँ तर आज पनि अतिथि हुँदा खुसी लागेको छ,’ उनले भनिन् ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना निर्माण सुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोडिएको छ ।

गाउँपालिकाको ४ नम्बर वडा दग्नाम र दर्मिजाको बीचमा पर्ने अक्करे अंजिगर भिरमा २ तर्फबाट काम गरी करिब १० महिनामा नै करिब एक किलोमिटिर जति सडकको ट्र्याक खुलेपछि ३ वडाका स्थानीय खुसी भएका छन् ।

गाउँपालिकाको दुर्गम वडा मानिने कुइनेमंगले र चिमखोला र दर्मिजा सिधा सडक सञ्जालले जोडिएपछि उक्त सडकको गाउँपालिकाले कार्यक्रम आयोजना गरी उद्घाटन गरेको छ । सोमबार दर्मिजामा बाजागाजासहित सडकको उद्घाटन गरेको हो ।

गाउँपालिकाको ३ करोड ६२ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख रुपैयाँ खर्च भएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

२०७५/७६ मा ६५ लाख बजेट परेकोमा २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७/७८ मा पूर्वधार साझेदारी कार्यक्रममा आएको ५० लाखमा २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको र बाँकी कोेरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनका अनुसार यो बजेट स्थानीय सरकारमार्फत कार्यान्वयन भएको बजेट समावेश गरिएको छ ।

सुवेदीका अनुसार टुँडी पावर कम्पनी प्रालि र संयुक्त ऊर्जा प्रालिको करिब ११ करोड लागतमा उक्त ट्र्याक खोलिएको हो । उनका अनुसार यो खर्च स्थानीय सरकार आएपछि र गाउँपालिकाको समन्वयनमा आएका कार्यक्रमको मात्र हो । स्थानीय सरकार आउनुभन्दा पहिले पनि यस सडकमा धेरै बजेट खर्च भइसकेको छ ।

‘यो अक्करे भिर कसैले फुटाउन सकिँदैन भनेका थिए तर अहिले यही भिर हँुदै दुर्गम बस्तीमा पुग्न सकिन्छ,’ गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले भने, ‘यो भिरका कारणले ६ वर्षदेखि यो सडक फुटाउन सकिएको थिएन, गाउँपालिकाको संक्रियतामा ट्र्याक खोलेपछि सवारी चल्ने भएको हो ।’

भण्डारीका अनुसार ३ वटा वडाले आफ्नो वडाको गौरवको आयोजनाको बजेट पनि भिर खोल्न खर्च गर्ने भएका हुन् ।

गलेश्वर–मौवाफाँट–दग्नाम हुँदै कुइनेसम्म पुग्ने ३६ किलोमिटर सडकको निर्माण भएपछि निकै सुखी लागेको वडा न ४ दग्नामा वडा अध्यक्ष एकबहादुर गर्बुजाले बताए ।

‘२०६७ सालदेखि यो सडकको निर्माण थालिएको हो तर, स्थानीय सरकार आएपछि गाउँसम्म सडक ल्याउन सक्याैँ,’ उनले भने, ‘यो स्थानीय सरकारको उपलब्धि हो ।’ अब गाउँका उत्पादनले पनि बजार पाउने छन् र यहाँका पर्यटकीय स्थलहरुमा पनि चहलपहल बढ्ने छ ।

स्थानीय बासिन्दा हाल गाउँमा सडक पुगे पनि यातायात सुविधा पाएका छन् । जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन पैदल नअडिने भिडमा खरको भरमा हिड्ँनुपर्ने बाध्यता हटेकोमा खुसी लागेको वडा नम्बर ८ कुइने मंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए । यो सडकले ३ वटा वडाका करिब ८ हजार जनता प्रत्यक्ष सेवा पाउने छन् ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरले यो सडक निर्माण भएपछि ग्रामीण भेगका जनतालाई राहत मिलेको बताए ।

जलविद्युत आयोजना टुँडी पावर कम्पनीका प्रबन्धक उपेन्द्र गौतम र संयुक्त ऊर्जा प्रालिका प्रतिनिधि सुवासचन्द्र बराल गाउँपालिकको समन्वयमा आफूहरुले हातेमालो गरेको सुनाए ।

तपाईको प्रतिक्रिया