बेनी—जोमसोम सडकमा टाइमकार्ड

समाधान संवाददाता २०७७ फागुन २० गते ११:५३

दैनिक साढे ६ घण्टा गाडी आउजाउ पूर्ण रुपमा बन्द

एसके थकाली, जोमसोम

उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोमकोरला सडक आयोजना अन्तर्गत बेनी—जोमसोम सडकखण्डमा मंगलबारदेखि टाइमकार्ड लागू भएको छ ।

Advertisement

टाइमकार्ड लागू भएसँगै मुस्ताङ आउजाउ गर्ने सबै प्रकारका सवारी साधनलाई सडक निर्माणका क्रममा आउजाउमा रोक लगाइने भएको छ ।

राष्ट्रिय गौरवको बेनी जोमसोम ७६ किमी निर्माणाधीन सडकलाई गति दिन टाइमकार्ड लगाइएको निर्माण कम्पनीले जनाएको छ ।

Advertisement

जसअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका १ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुंगे भीर र मुस्ताङको थासाङ गाउँपालिका ४ को घाँसादेखि लेतेसम्मको निर्माणाधीन सडकको कामलाई बाधा नपुग्ने गरी टाइमकार्ड लगाइएको बेनी—जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

अब बेनी—जोमसोम सडकमा दैनिक साढे ६ घण्टा गाडी आउजाउ पूर्ण रुपमा बन्द हुनेछ ।

सडक सुपरभाइजर शेरचनले अब दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माण हुनेछ । बेनी—जोमसोम सडकको ४ प्याकेजमा काम भइरहेको छ ।

निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण ३ र मुस्ताङको थासाङ ४ को सीमाक्षेत्रमा पर्ने बादरजुंगेभीरमा सडक चौडा गर्नका लागि रक कटिङ गरिरहेको छ ।

अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सडक सुपरभाइजर शेरचनले बताए । बेनी—जोमसोम सडकको प्याकेज १ मा शर्मा युनाइटेड र प्याकेज २ र ३ को काम शर्मा गजुरमुखीले जिम्मा लिएका छन् ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो । बेनी—जोमसोम ४ खण्ड र जोमसोम—कोरला ७ खण्डमा काम भइरहेको छ ।

कोरोना भाईरसका कारण बेनी—जोमसोम सडकको काम केही समय प्रभावित भएको थियो । बेनी—जोमसोम—कोरला सडकमा हिमपात, मौसमप्रतिकूलता र कोरना कहरले निर्माणको काममा बाधा पुगेको थियो ।

बनी—जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम—कोरला सडकमा ८० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना अन्तर्गत जोमसोम—कोरला सडकखण्डका ३ प्याकेजको काम सम्पन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ ।

तपाईको प्रतिक्रिया