कल्पनाका कवितामा यथार्थै यथार्थ

समाधान संवाददाता २०७७ फागुन २० गते १३:१४

समाधान संवाददाता, पोखरा

परम्परागत एउटा भनाइ छ, ‘साहित्यले समाजको चित्रण गर्नुपर्छ ।’ लेखक सुमिना त्यस्तो भनाइसँग पूर्ण सहमत छैनन् । उनी भन्छिन्, ‘साहित्यले समाजको चित्रण गरेर मात्रै हुँदैन, समाज परिवर्तनको अस्त्र हुनुपर्छ ।’ उनकै भनाइमा साहित्यले वर्तमानमा उभिएर भविष्यको दिशा निर्देश गर्नुपर्छ ।

कवि कल्पना चिलुवालको कविता संग्रह चुल्ठोको पोखरामा बुधबार आयोजित परिचर्चाका क्रममा सुमिना उनका कवितासँगै साहित्यको चर्चा गर्दै थिइन् ।

Advertisement

सुमिनाले भनिन्, ‘चिलुवालका कवितामा परिवर्तनको आवाज पनि भेटिन्छ ।’ चिलुवालका कविताले सीमान्तकृतहरुको आवाज बोलेको उनले सुनाइन् । ‘हल्ला हामीले होइन, हल्ला कविताले गर्नुपर्छ,’ सुमिनाले थपिन् ।

कवि सरस्वती प्रतीक्षाले कवितालाई बोध गर्न छैटौं इन्द्रिय चाहिने बताइन् । पोखरामा कविताको उपस्थितिको खडेरी भइरहेका बेला कल्पनाको कविता संग्रह आएको हुँदा अब कसैले पनि कविताको खडेरी छ भनेर भन्न नसक्ने उनले दाबी गरिन् ।

Advertisement

कल्पनाका कविताले सौन्दर्यका सम्पूर्ण मानक भत्काएको उनले सुनाइन् । ‘जब कवि रिसाउँछ, उसले सुन्दर कविता जन्माउँछ,’ प्रतीक्षाले भनिन्, ‘कल्पनाका कविता पढ्दा उनी एक रिसाहा कवि लाग्छिन्, भयंकर रिसाहा कवि । कविता संग्रहमा रिस नपाएको एउटा कविता छैन । कहिले उपभोक्तावादविरुद्ध त कहिले शासकसँग रिसाउँछिन् कल्पना ।’

भुइँ मान्छेका तीता र टर्रा अनुभूति कल्पनाका कवितामा भएको बताउँदै प्रतीक्षाले गुलिया कविता खोज्नेले उनका कविता मन नपराउने सक्ने विचार राखिन् । उनले भनिन्, ‘कल्पनाका कवितामा कल्पना हैन, यथार्थै यथार्थ बग्रेल्ती भेटिन्छ ।’

गण्डकी संगमका अध्यक्ष डा कृष्णराज अधिकारीले अचेल सबैभन्दा धेरै लेखिने विधा कविता भएको बताए । उनले भने, ‘तर, वास्तविक कविता कमै लेखिन्छ ।’

कविता मानिसको हृदयमा पसेर मस्तिष्कसम्म पुग्न सक्नुपर्ने अधिकारीले बताए । उनले भने, ‘कविताका नाममा कविता लेखेर हुँदैन, कविताले पाठकको मस्तिष्कमा उज्यालो छर्न सक्नुपर्छ ।’

कल्पनाका कवितामा बिम्वको ज्यादै कम प्रयोग भएको र त्यही नै सबल पक्ष रहेको अधिकारीले टिप्पणी गरे । ‘जटिल बिम्व प्रयोग गर्दैमा कविता उत्कृष्ट हुँदैन, बिम्व कविताको अंग त हो, तर अनिवार्य होइन । बिम्वले थिचिएर कविताको भाव मर्नु हुँदैन ।’ कल्पनाका कवितामा विद्रोह चेत रहेको पनि उनले सुनाए ।

कवि कल्पनाले सुरुमा चुल्ठो कविता पढेर आगन्तुक सबैको स्वागत गरेकी थिइन् । उनले कविता लेख्ने कलम आफ्नो भए पनि त्यसको जस पोखरा र पोखरेलीलाई दिइन् ।

‘मेरा कविताले आम मान्छेसँग सरोकार राखेका छन्,’ उनले भनिन्, ‘आम मान्छेसँग कवितामार्फत जोडिन पाउँदा खुसी छु ।’ बेला प्रकाशनले उनको कविता कृति प्रकाशन गरेको हो । प्रकाशन संस्थाकी बन्दना ढकालले कल्पनाका कविता प्रकाशन गर्न पाउँदा खुसी लागेको सुनाइन् ।

तपाईको प्रतिक्रिया