गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुँदै

काठमाडौँ
फाइनप्रिन्टले गण्डकी प्रदेशको नवलपुर जिल्ला गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ । जहाँ फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने भएको छ ।
उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नु नै हुनेछ, सँगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गर्नेछन् ।
‘कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन्, विशेष छुटमा पुस्तक प्रदर्शनी रहनेछ । र अन्य रचनात्मक कार्यक्रम पनि हुनेछन्,’ फाइनप्रिन्टले विज्ञप्तिमार्फत भनेको छ, ‘हामीलाई लाग्छ, यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिसमानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ ।’
कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्ने छैन ।
फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने, पुँजीवाद र स्वतन्त्र समाजका आधारशिलाका अनुवादक मुराहरि पराजुली, कका लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको सहभागिता रहनेछ । यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन् ।
उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ ।
चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।
कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ ।
कला र साहित्यको प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।
तपाईको प्रतिक्रिया