जुट्दै बाराहीका भूपू विद्यार्थी

समाधान संवाददाता २०७७ फागुन २४ गते ८:५२

समाधान संवाददाता, पोखरा

बाराही मावि मालेपाटनका विद्यार्थी बिहान १० बजे नियमित प्रार्थनापछि कक्षा पुग्थे । आइतबार बिहानीको प्रार्थना भने फरक रह्यो ।

विद्यार्थीमात्रै होइन, त्यहाँ १०/१२ जना वयस्कहरु पनि लाइनमै बसेर प्रार्थना गरे । त्यसरी लाइनमा उभिएर प्रार्थना गर्नेहरु सोही विद्यालयका भूपू विद्यार्थी हुन् ।

Advertisement

आफू पढेको विद्यालयमा निशुल्क आँखा जाँच शिविर आयोजना गरेका भूपू विद्यार्थीले लाइनमा बसेर पुराना याद ताजा गरे । त्यही लाइनमा विद्यालयका प्रधानध्यापक शिव भण्डारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल पनि थिए ।

विद्यार्थीसँगै दिन कटाउने उनीहरु बाराहीकै भूपू विद्यार्थी भएकाले विद्यार्थी र साथीहरुसँगै उभिए ।

Advertisement

प्रार्थनामात्रै गरेनन्, भूपू विद्यार्थीकै पहलमा आइतबार नै ६ सयभन्दा बढी विद्यार्थी र शिक्षकको आँखा जाँच गरिएको छ । बाराही भूपू विद्यार्थी मञ्चले हिमालय आँखा अस्पतालको सहयोगमा शिविर गरेको हो । आँखा कमजोर भएका र चस्मा लगाउनुपर्ने १४ जनालाई २०३८ सालका एसएलसी ब्याची नेत्रराज गिरीले चस्मा सहयोग गर्ने भएका छन् ।

बाराही माविमा अधिकांश गरिब र जेहेनदार विद्यार्थी पढ्छन् । उनीहरुलाई नै सहयोग गर्न र विद्यालयको शैक्षिक गुणस्तर उकास्न हालै शिवराज बरालको संयोजकत्वमा भूपू विद्यार्थी मञ्चको तदर्थ समिति बनाइएको छ ।

समिति सचिवमा माधवप्रसाद बराल, कपिलनाथ कोइराला, सुनील उलक, विष्णुहरि अधिकारी, ठाकुर अधिकारी, शान्ता घिमिरे लगायत सदस्य छन् ।

मञ्चमा रहेका र अरु भूपू विद्यार्थीले व्यक्तिगत रुपमै आफू पढेको विद्यालयमा अहिले पढ्ने विद्यार्थीलाई सहयोग गर्न थालेका छन् । २०५० सालका एसएलसी ब्याची गोविन्द गौतमले कक्षा १ देखि ३ सम्मका ६५ जना विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेका छन् ।

२०४५ सालका विद्यार्थीको पहलमा साढे ५ लाख रुपैयाँमा विद्यालय प्रवेशद्वारमा अभिभावक कक्ष बनिरहेको छ । ‘संरचनागत हिसाबले स्कुल पहिलाको भन्दा फरक भएको छ । अब हामीले पनि केही गर्नुपर्छ भनेर लागेका हौं,’ २०४५ सालका विद्यार्थी प्रकाश बज्राचर्याले भने, ‘अभिभावक आउँदा भेट्न सजिलो हुन्छ भनेर साढे ५ लाख रुपैयाँमा कक्ष बनाइरहेका छौं, छिट्टै सकिन्छ ।’

विद्यालयको शैक्षिक गुणस्तर उकास्न र गरिब विद्यार्थीलाई सहयोग गर्न अक्षयकोष पनि बनाउन आर्थिक संकलन भइरहेको मञ्चका सदस्य कपिलनाथ कोइरालाले जानकारी दिए । त्यसमा हालसम्म साढे ४ लाख रुपैयाँ संकलन भएको उनले बताए ।

‘समयले विद्यालयबाट टाढा पु-याए पनि हाम्रो भावनात्मक सम्बन्ध छँदै छ । यहाँका जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न भूपू विद्यार्थी एकजुट भएका हौं,’ उनले भने ।

मञ्च सदस्य सुनील उलकले पनि विद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए । बाराही माविका सबै भूपू विद्यार्थीलाई समेटेर आफूहरु अगाडि बढ्ने उनले सुनाए ।

तपाईको प्रतिक्रिया