बस्ती नजिकै अस्फाल्ट प्लान्ट, बन्द गर्न माग

समाधान संवाददाता २०७७ फागुन २४ गते ८:५८

समाधान संवाददाता, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि अस्फाल्ट पिचको प्लान्ट सञ्चालनमा आएपछि पोखरा १४ का स्थानीयले विरोध जनाएका छन् ।

विमानस्थलको पेरिफेरि सडक पिच गर्न आवश्यक सामग्री उत्पादनका लागि राखिएको प्लान्टले प्रदूषण गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

Advertisement

पेरिफेरी सडकका लागि मात्रै सामग्री उत्पादन गर्ने भनेर स्थापना गरेकोमा अन्तको पिचका लागि पनि काम गर्न थालेको भन्दै स्थानीयले प्लान्ट बन्द गर्न माग गर्दै आएका थिए ।

पोखराको अन्य भागको सडकमा अस्फाल्ट पिच गर्ने सामग्री पनि एयरपोर्ट छेउकै प्लान्टबाट लगिएको स्थानीयको भनाइ छ । प्लान्ट त्यहाँ राख्न वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरिएको र त्यसलाई तुरुन्त रोक्नुपर्ने भन्दै स्थानीयले प्रतिकार समिति पनि गठन गरेका थिए ।

Advertisement

पटकपटक अनुरोध गर्दा र सम्बन्धित निकायहरुलाई गुहार्दा पनि सुनुवाइ नभएपछि स्थानीयले शनिबार र आइतबार प्लान्ट घेराउ गरी सञ्चालन रोकेका थिए । तर स्थानीय माथि प्रहरी लगाएर दबाब दिइएको थियो ।

स्थानीयहरुले आफूहरु र साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै जसरी पनि रोक्नुपर्ने आवाज उठाउँदै आएका थिए ।

स्थानीयले घेराउ नै गरेपछि आइतबार प्लान्ट सञ्चालक पिके कन्स्ट्रक्सनका प्रतिनिधिले प्लान्टको साँचो जनप्रतिनिधिलाई बुझाएका छन् ।

‘विमानस्थल वरिपरिको सडकलाई चाहिने सामान उत्पादन गर्दामात्रै खोल्ने र अरु बेला नखोल्ने भनेर साँचो हस्तान्तरण भएको छ,’ स्थानीय हेमन्त ढकालले भने । प्रदूषण फैलाउने उद्योग बस्तीको आडैमा राखिएको र प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया