गण्डकी सरकार ढुक्कै छ

समाधान संवाददाता २०७७ फागुन २५ गते १०:३७

पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री

सर्वोच्च अदालतले भन्यो, तिमीहरुको एकताको विधि पुगेन, कानुनसम्मत भएन, प्रक्रिया मिलेन । तिमीहरु एकता गर्न चाहन्छौं भने विधि पु-याएर आऊ ।

भइरहेको पार्टीको नामबाट अर्को पार्टी दर्ता नगराऊ भनेको छ, सर्वोच्चले । त्यसकारण एकता अगाडिको जुन स्थिति हो, पार्टी त्यही स्थितिमा पुग्यो । साविक नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो ।

Advertisement

२ वटै दलको संसदीय दल र पार्टी कमिटीको बैठक बसेर २०७४ जेठ ३ गते जहाँ थियो, त्यहीँबाट सुरु गर्ने गर्नुपर्ने स्थिति आयो । अब सर्वोच्चको आदेशलाई स्वीकारेर पार्टी र सरकार निर्माणमा जुट्नुको विकल्प छैन । नेपाल–दाहाल समूह पुनरावलोकनमा जाने भन्नुभएको छ । तर, त्यसको के अर्थ हुन्छ र ?

एकता भइसकेपछि उपनिर्वाचनबाट सांसद बनेका, राष्ट्रिय सभामा गएका प्रतिनिधिको अब के हुन्छ ? भन्ने हो । सूर्य चिह्न नै लिएर चुनाव लडेका हुनाले उहाँहरु स्वाभाविक हिसाबले चिह्न एमालेको भएपछि उहाँहरु पनि यतै हुनुभयो भन्ने मेरो तर्क हो । तर पनि यसलाई कानुनी हिसाबले अझै प्रष्ट पार्नुपर्छ होला ।

Advertisement

सूर्य चिह्न जहाँ छ, नेकपाको अध्यक्ष जहाँ छ त्यहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ । अरु कानुनले नै भन्ला ।

सर्वोच्चको फैसलाले पूर्व एमाले कार्यकर्ता खुसी छन् । कार्यकर्ताको हड्डी हाँस्या छ । सूर्य चिह्न पाइन्न कि भन्ने थियो । पूर्व एमाले ब्युँतियो, सूर्य चिह्न पायोभन्दा सबै कार्यकर्ता खुसी भएका छन् ।

पार्टीमा किचलो सधैं भइराख्यो भन्ने चिन्ता थियो । एकतापछिको ३ वर्ष जसरी गुज्रियो, जस्तो खालको परिस्थिति बन्यो, त्यसबाट कार्यकर्ता खुसी थिएनन् ।

जुन खालको विधि, संस्कार, पद्दति पार्टीमा रहनुपथ्र्यो, त्यो रहेन भनेर धेरै कार्यकर्ता चिन्तित थिए । एकता हतारमा गरिएछ भन्ने थियो । तल्लो तहसम्मका कार्यकर्ता उत्साहीत देखिन्छन् ।

पार्टी एकताको मर्मअनुसारै सरकार बनेका छन् । प्रदेश सरकार पनि एकताको भवनाअनुसारै गठन भएको थियो । परिस्थितिले पार्टी विभाजनै हुँदा पनि गण्डकी प्रदेश सरकारलाई समस्या हिजो पनि थिएन, अब पनि हुँदैन ।

माधव नेपाल–पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा लाग्नुभएका एकजना सांसद हुनुहुन्थ्यो । अब उहाँ पनि एमालेकै सांसद हो । हाम्रै दलको सदस्य हुनुभयो ।

सरकारले विश्वासको मत लिनुपर्ने स्थिति नआउला भन्ने लाग्छ, मलाई । विश्वासको मत लिँदा साविक एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले भोट हालेको हो । मलाई समर्थन गर्ने २ दलमध्ये जनमोर्चाले फिर्ता लिएन भने मलाई अप्ठेरो पर्दैन ।

माओवादीले समर्थन फिर्ता लिए पनि मेरो ३१ मत पुग्छ । दुई वटै पार्टीले समर्थन फिर्ता लियो भने मैले विश्वासको मत लिनपर्ने हुन्छ ।

राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै समर्थन गरेको छ र प्रतिवद्धता पनि जनाइरहेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको सरकार पनि माओवादी र एमालेकै बन्नुपर्छ भनिसकेपछि समर्थन फिर्ता लिन्छजस्तो मलाई लाग्दैन । अप्ठेरो परिस्थिति आउँदैन भन्नेमा गण्डकी प्रदेश सरकार ढुक्कै छ ।

समाधानसँगको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया