कोरलासहित ३ अस्थायी नाका खोलिँदै

समाधान संवाददाता २०७७ फागुन २६ गते १६:००

एसके थकाली, जोमसोम

मुस्ताङसहित ताप्लेजुङ र संखुवासभाका सीमावर्ती नाका अस्थायी रुपमा खुला गरिने भएको छ ।

उत्तरी छिमेकी देश चीनको स्वाशासित क्षेत्र तिब्बतबाट नेपालमा सहायता सामग्री ल्याउन मुस्ताङको उत्तरी कोरला नाका, ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाका अस्थायी रुपमा खुला गरिने जनाइएको छ ।

Advertisement

मुस्ताङसहित तीन जिल्लामा अस्थायी रुपमा नाका खुला गर्न परराष्ट्र मन्त्रालयको (उत्तरपूर्व एसिया महाशाखा)ले २०७६ चैत १६ गते सम्बन्धित स्थानीय प्रशासनलाई पत्र पठाएको थियो ।

काठमाडौंस्थित चिनियाँ दूताबासको कूटनीतिक नोट प्राप्त भएकाले गृह मन्त्रालयले सो अनुसार सहजीकरण गर्न गराउन सम्बन्धित स्थानीय प्रशासनलाई परिपत्र गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

Advertisement

मन्त्रालयको परिपत्र अनुसार उत्तरी सीमावर्ती जिल्ला मुस्ताङ, ताप्लेजुङ र संखुवासभा जिल्लामा स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यकता र औचित्यताको आधारमा अस्थायी रुपमा नाका खोल्न सहज भएको छ ।

मुस्ताङमा बर्सेनि असार र भदौ महिनामा अन्तरदेशीय व्यापार मेलाका लागि कोरलानाका सीमित समयका लागि दुईपटक खुला हुने गर्छ । चीन पक्ष र सीमावर्ती गाउँपालिकाको आपसी समन्वयमा बर्सेनि मेला आयोजना हुने गरेको छ ।

मेला आयोजना गर्दा स्थानीय प्रशासनलाई समेत जानकारी गराइने गरिन्छ । मुस्ताङको उत्तरी कोरला नाकामा असार र भदौ महिनामा लाग्ने अन्तरदेशीय मेला बाहेक अन्य समयमा कोरला नाकाको ढोका पुरै बन्द रहन्छ ।

सरकारले सीमावर्ती तीन जिल्लालाई अस्थायी रुपमा नाका खोल्ने अधिकार दिएपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई थप राहत पुगेको छ । तर, सरकारले सहायता सामग्री भन्ने जनाए पनि सहायता सामग्रीको स्पष्ट खाका चित्रण नभएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन् । ‘चीनसँग सीमाना जोडिएका तीन जिल्ला अस्थायी रुपमा खुला गर्ने भनिएको छ ।

अस्थायी रुपमा भन्नाले विगत वर्षमा पनि अस्थायी रुपमै खोलिन्थ्यो, निरन्तर खुलेको थिएन,’ प्रजिअ पौडेलले भनिन्, ‘मन्त्रालयले अस्थायी भने पनि यो वा त्यो भन्ने तोकिएको छैन, सहायता सामग्री भन्नाले चिनिया सहयोग हो कि भन्ने हाम्रो ठम्याइ छ ।’

उत्तरी छिमेकी देश चीनले सीमावर्ती जिल्लालाई बर्सेनि खाद्यान्न, कृषि उपकरण र स्वास्थ्य सामग्री लगायतमा सहयोग पु¥याउने गरेको छ । तर चीन पक्षले यसरी दिने राहत सामग्री सीमावर्ती क्षेत्रमा ल्याएर हस्तान्तरण गथ्र्यो ।

यसर्थ चीनले दिने सहायता सामग्रीका लागि अस्थायी रुपमा खोल्नैपर्छ भन्ने बाध्यता देखिँदैन । चीन पक्षले सहायता सामग्री ल्याउन कूटनीतिक रुपमा अस्थायी नाका खोल्न नेपालसँग सहमति गरे पनि व्यापारिक प्रयोजनका लागि अस्थायी रुपमा नाका खोल्न पाउने हो कि भन्ने आशय झल्किन्छ ।

मुस्ताङतर्फ उत्तरी कोरलानाका आसापासको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका स्थानीयले बर्सेनि बर्खायाममा अतिआवश्यक सामाग्री खाद्यान्न, लत्ता कपडा, मेसिनरी औजार र किराना सामग्री मेला लाग्ने बेला किनमेल गर्छन् ।

सीमावर्तीक्षेत्रका बासिन्दा चीनको तिब्बती क्षेत्रमा जाँदा नागरिकता देखाएपछि प्रवेश दिइने गथ्र्यो । मेला गर्दा तिब्बत पक्षले सीमावर्ती स्थानीय तहसँग समन्वय गर्ने गरेको पाइएको छ ।

यसवर्ष विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्तरी कोरलानाकाको ढोङ्वासेनमा अन्तरदेशिय मेला लाग्न सकेन । कोरोनाका कारण मेला स्थगित भएपछि उपल्लो मुस्ताङमा चिनिया सामानको अभाव देखिएको छ ।

नेपालतर्फ पश्मिना, यार्सा गुम्बा लगायत सामग्री निर्यात हुन्थ्यो । लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सरकारले मुस्ताङसहित तीन जिल्लामा अस्थायी नाका खोल्न पाउने निर्णय स्वागतयोग्य भएको बताए ।

उनले बर्सेनि असार र भदौंमा लाग्ने व्यापारिक मेला अब आवश्यकता र औचित्यताका आधारमा नाका खोल्न सहज भएको जनाए । अस्थायी नाका खोल्ने निर्णयले स्थानीय प्रशासनको अनुमतीमा दसैँ/तिहारमा भेडा/च्याङ्ग्रा खरिद गर्न सजिलो हुने अध्यक्ष बिष्टले उल्लेख गरे ।

मुस्ताङबाट निर्वाचित प्रदेश सांसद इन्द्रधारा बिष्टले सरकारले चीनसँग समन्वय गरेर अस्थायी रुपमा नाका खोल्न पाउने प्रावधानले उत्तरी कोरलानाका दीर्घकालीन रुपमा नाका खोल्न पूर्व संकेत भएको बताए ।

तपाईको प्रतिक्रिया