गाउँपालिकाका प्रतिभालाई रुपाको सम्मान

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:३२

समाधान संवाददाता, पोखरा

रुपा गाउँपालिकाले आफ्नो गाउँमा जन्मिएर राष्ट्रिय ख्याति प्राप्त गरेका प्रतिभाहरुलाई ‘रुपारत्न’ सम्मान प्रदान गरेको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर प्रतिभाहरुलाई शुक्रबार सम्मान गरिएको हो ।

साहित्यकार रामबाबु सुवेदी, पत्रकार तथा उपन्यासकार बद्रीविनोद प्रतीक, लेखक हरिहर खनाल, कलाकार माओत्से गुरुङ र गजलकार प्रकट पगेनी शिवलाई ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्मानपत्र प्रदान गरे ।

Advertisement

सम्मानको सूचीमा रहेका उपन्यासकार अमर न्यौपाने भने कार्यक्रममा उपस्थित हुन सकेनन् । उनीहरुलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

रुपामा जन्मिएका वा रुपा पुख्र्याैली थलो भएका स्रष्टाले विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्दै राष्ट्रलाई योगदान पुर्‍याए स्वरुप उनीहरुलाई सम्मान गरिएको अध्यक्ष नवराज ओझाले सुनाए ।

Advertisement

स्थापना दिवसका अवसरमा रुपा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका वडास्तरीय भलिबल प्रतियोगिताका विजेता पनि शुक्रबार पुरस्कृत भए । प्रतियोगिताको शुक्रबारै भएको फाइनलमा रुपा गाउँपालिका वडा नम्बर ६ प्रथम भयो ।

उसले मादी गाउँपालिकाको वडा नम्बर २ को टिमलाई फाइनलमा पराजित गरेको थियो । प्रतियोगितामा १२ टिम प्रतिस्पर्धामा थिए । प्रथम टिम रुपा ६ ले ८० हजार रुपैयाँ नगद, मेडलसहितको पुरस्कार प्राप्त गरेको छ ।

३२ टोलीले झाँकी प्रदर्शन गरेकामा बाराहथोक तमु समाज प्रथम भएको थियो । उसले ३५ हजार रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गरेको छ । माला बनाउने प्रतियोगितामा पनि त्यस अवसरमा आयोजना भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले समृद्धिको दिशामा सरकार अघि बढेको सुनाए ।

रुपा ताल विस्तार आयोजना अन्तर्गत बाँकी मुआब्जाको काममा पनि सरकार गम्भीर भएर न्यायोचित कार्य गर्ने बताए । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले रुपाका विभिन्न सडकहरु पिच गर्ने गरी काम अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद दीपक कोइराला र कृष्णबहादुर थापा, जिसस संयोजक बैनबहादुर क्षेत्री, स्रष्टा हरिहर खनाल, गापा उपाध्यक्ष लालसुब्बा गुरुङ, कांग्रेस गाउँ समिति सभापति तुलबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया