मुस्ताङमा ३२ वर्ष पुरानो शिव मन्दिर पुनर्निर्माण

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:४०

एसके थकाली, जोमसोम

घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टमा अवस्थित ३२ वर्ष पुरानो जीर्ण शिव मन्दिर पुनर्निर्माण भएको छ । कर्मचारी मिलन केन्द्र मुस्ताङले ।

२०४६ सालको महाशिवरात्रिका दिन शिव मन्दिर निर्माण गरेको थियो । शिव मन्दिर जीर्ण हुँदै गएपछि केन्द्रको पहलमा विभिन्न दाताहरुबाट नगद तथा श्रमदान र जिन्सी चन्दा संकलन गरी पुनर्निर्माण गरिएको कर्मचारी मिलन केन्द्र मुस्ताङले जनाएको छ ।

Advertisement

कर्मचारीहरुले हिन्दु चाडपर्वहरुमा पूजाआजा गर्ने उद्देश्यले शिव मन्दिर निर्माण गरिएको थियो ।

मन्दिरमा पुजारी नबस्ने भए पनि नेपाली सेनामा कार्यरत पुजारीहरुले विशेष चाडपर्वमा पूजाआजा गर्दै आएका थिए ।

Advertisement

मुस्ताङ सदरमुकामको पुथाङ एअरपोर्ट नजिकैको पश्चिमतर्फ करिब एकसय मिटर अग्लो ठाउँमा शिव मन्दिर निर्माण गरिएको थियो । कर्मचारीले निर्माण गरेको शिव मन्दिर पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बनेको थियो ।

मन्दिरको पुनर्निर्माण मिलन केन्द्रले नै गरेको केन्द्रका सचिव बृजकिशोर चौरासियाले जानकारी दिए ।

उनका अनुसार शिव मन्दिर पुनर्निर्माणका लागि विभिन्न दाताहरुबाट ६ लाख ५३ हजार नगद र ३ लाख १५ हजार श्रमदान तथा जिन्सी गरी कुल ९ लाख २१ हजार संकलन भएको थियो ।

शिव मन्दिर पुनर्निर्माणका लागि मुस्ताङमा कार्यरत कर्मचारी, निर्माण व्यवसायी तथा सरोकारवाला निकायबाट आर्थिक तथा जिन्सी सहयोग उठाइएको थियो ।

यसअघि ढुंगा माटोले निर्माण गरिएको शिव मन्दिरमा सिमेन्ट प्लास्टर गरी रङ रोगन गरी आकर्षक तुल्याइएको छ । पुथाङ एअरपोट देखि शिव मन्दिरसम्म पुग्ने रेलिङसहितको सिढी बाटो पुनर्निर्माण, मन्दिरको चारकिल्लामा रेलिङ जडान र मन्दिर परिसरमा छप्पनी ढुंगा बिच्छ्याउने लगायतको काम भएको मिलनकेन्द्रका सचिव चौरासियाको भनाइ छ ।

शिव मन्दिर पुननिर्माण भएसँगै मुस्ताङमा हिन्दु धर्ममा आस्थावान कर्मचारी, पर्यटक र सर्वसाधारणलाई पूजाआजा गर्न सहज भएको कर्मचारी मिलन केन्द्रले बताएको छ । मन्दिर पुननिर्माण भएसँगै शिव मन्दिर निकै आकर्षण देखिएको छ ।

शिव मन्दिर पुनर्निर्माण केवल पूजाआजाका लागि मात्र नभई धार्मिक पर्यटकीय गन्तव्य तथा जोमसोम बजारको दृश्यावलोकन केन्द्र बन्न सक्ने कर्मचारी मिलन केन्द्रका अध्यक्ष रुक्मांगत सुवेदीले बताए ।

उनले शिव मन्दिर पुनर्निर्माण भएको र त्यसमा धार्मिक थप संरचना निर्माण गर्न सकिए मुस्ताङ आउने पर्यटकको उपस्थिति वृद्धि हुने दावी गरे ।

पुनर्निर्माण गरिएको शिव मन्दिरमा शिवरात्रिका दिन बिहीबार धार्मिक अनुष्ठान गरिएको छ । अधिकांश बौद्ध धर्मालम्बी रहेको मुस्ताङमा दर्जनौं गुम्बा छन् । तर, पुनर्निर्माण गरिएको शिव मन्दिर मुस्ताङमा एकमात्र शिव मन्दिर हो । त्यसबाहेक बौद्ध र हिन्दुले साझा रुपमा मान्ने मुक्तिनाथ मन्दिर मुस्ताङमा छ ।

तपाईको प्रतिक्रिया