मनकारी मीलनको सहयोगले बाजुङेको ओंठमा खुसी

समाधान संवाददाता २०७७ फागुन २८ गते २०:०६


समाधान संवाददाता/पोखरा, २८ फागुन

मुक्तिनाथ यात्राका क्रममा विसं १९९७ सालमा योगी नरहरि नाथ पर्वतको बाजुङ पुगे । बाजुङमा उनले ॐकारेश्वर शिव मन्दिरको स्थापना गरे । अहिले मोदी गाउँपालिका वडा नम्बर ५ मा पर्ने ॐकारेश्वर मन्दिरप्रति स्थानीय भन्छन्, ‘योगी नरहरिनाथले स्थापना गरेयता मन्दिरमा ठूलो आस्था जोडिएको छ । प्रत्येक शिव पर्वमा यहाँ भक्तजनहरु आउँछन् ।’

Advertisement

Advertisement

बाजुङेको आस्था जोडिएको मन्दिर जीर्ण भइसकेको थियो । बाजुङ–५ मै जन्मिएर हङकङमा कार्यरत दुर्गा घोताने ‘मिलन’ले परिकल्पना गरे, ‘अब यो मन्दिरको पुनर्निर्माण गर्नुपर्छ ।’ त्यसको अगुवाइ उनै मीलनले गरे । मीलन र उनको परिवारलेमात्र मन्दिर निर्माणमा १५ लाख रुपैयाँभन्दा धेरै दान गरे । त्यसमा मोदी गाउँपालिका, स्थानीय मनकारी दाताको सहयोगले अहिले मन्दिर चिटिक्क बनेको छ ।

पुनर्निर्माण भएर चिटिक्क बनेको मन्दिरमा यसपटकको महाशिवरात्रीमा स्थानीय भक्तजनको भीड लाग्यो । हिन्दुधर्मालम्बीहरुको आस्था जोडिएको र बाजुङेको सम्पदा मन्दिर परिसरमा शिवरात्रीको अवसरमा गाउँलेले उत्सव मनाए । ‘बाजुङमात्रै नभएर देशकै विभिन्न क्षेत्रमा सहयोगी हात फैलाउँदै आएका मीलन गुरुङको साथ नपाएको भए यो मन्दिर बन्ने थिएन, त्यसमाथि उहाँले नै नेतृत्व लिनुभयो,’ स्थानीय अमर अधिकारीले भने, ‘अहिले ॐकारेश्वर मन्दिर पर्वतकै एउटा महत्वपूर्ण सम्पदा बनेको छ ।’

मन्दिरमा दर्शन गर्न पुगेका दर्शनार्थीले दाता मीलनलाई सम्झिरहे । देशका विभिन्न क्षेत्रमा समावसेवा गर्नकै निम्ति मीलन फाउण्डेसन गठन गरिएको छ । हङकङमा गरेको श्रमको मूल्यबाट बाजुङमा धार्मिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा लगानी गर्दै आएका मीलनले फाउण्डेसनमार्फत सहयोगी हात बढाउँदै आएका छन् ।

फाउण्ढेसनकै तर्फबाट मीलनले शिवरात्रीकै अवसरमा त्यहाँका आमा समूहलाई कुर्चि टेबलदेखि आवश्यक विभिन्न सामाग्री शिवरात्रीकै अवसरमा हस्तान्तरण गरेका छन् । मीलन ट्रस्टकी संरक्षक सावित्रीकुमार गुरुङले आमा समूहलाई आवश्यक विभिन्न सामाग्री हस्तान्तरण गरेकी छन् । बाजुङमा मीलनकै संरक्षकत्वमा स्थापित मीलन बहुउद्देश्यीय महिला कृषक समूह गठन भएको छ । त्यो समूहमा मीलनले १ लाख रुपैयाँ सहयाेग गरेका िथए । 

‘विशेष गरी व्यावसायिक तथा नमूना कृषिको काम गर्न, महिलाको आयआर्जन, सामाजिक काम र क्षमता विकास गर्न समूहले काम गर्दै आएको छ । यो समूहलाई उहाँले ठूलो सहयोग गर्दै आउनुभएको छ,’ समूहकी अध्यक्ष विष्णुमाया अधिकारीले भनिन्, ‘यहाँकै संरक्षकत्वमा यो समूह गठन गरिएको हो । एक जना मनकारीको साथले पनि कति फरक पार्दो रहेछ भन्ने हामीले अनुभूति गरिरहेका छौं ।’ समाजमा दुख पर्दा निरन्तर गुरुङले साथ दिइरहेको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

गाउँले बाजागाजासहित शिव मन्दिर पुगे । महिला कृषि समूहले नाचगान गर्दै खुसी साटे ।

महाभूकम्पको बेला होस् या कोरोना महामारीका बेला मीलन फाण्डेसनले दुखेको घाउमा मल्हम लगाउँदै आएको स्थानीयले बताए । कहिले जाडोमा विद्यार्थीहरुले न्यानो कपडा पु¥याउँछन् त कहिले खेलकुदको क्षेत्रमा टेवा पु¥याउँछन् । कहिले संस्कृति बचाउनुपर्छ भनेर लाग्छन् त कहिले मानिसले उपचार नपाएर ज्यान गुमाउने अवस्था आउनु हुँदैन भनेर स्वास्थ्य शिविर गर्छन् ।

‘केही न केही नगरी बस्नै सक्दिन । पैसा धेरै भएर होइन, मातृभूमिका केही गरौं भन्ने हुटहुटीले प्रत्येक महिनाको कमाइबाट २० प्रतिशत समाजसेवामा लगाउँदै आएको छु,’ दुर्गाको सहयोगी मन बोल्यो, ‘म चर्चाका लागि होइन, कसैलाई दुख पर्छ भने सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले काम गर्छु ।’

मिलन फाउन्डेसन नेपाल आधिकारिक रुपमा दर्ता गरी सामाजिक सेवामा होमिएका दुर्गा घोताने ‘मिलन’ १२ वर्षदेखि सामाजिक सेवामा छन् । फाउन्डेसनले पर्वत, कास्की, पाल्पा, चितवन, लमजुङ, गोरखा लगायतका विभिन्न जिल्लामा सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया