संसदीय पत्रकार मञ्चको अध्यक्षमा कोइराला

समाधान संवाददाता, पोखरा
संसदीय पत्रकार मञ्च गण्डकीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले समाधानका पूर्व कार्यकारी सम्पादक भरत कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार भएको अधिवेशनबाट समाधानका वरिष्ठ संवाददाता अमृत सुवेदी उपाध्यक्ष निर्वाचित भए ।
नयाँ पत्रिका दैनिकका रोहितराज पराजुली सचिव, गोरखापत्र दैनिककी तारा चापागाईं दुवे कोषाध्यक्ष र सेतोपाटी डकटकमका युवराज श्रेष्ठ सहसचिव चुनिएका छन् ।
आदर्श समाज दैनिकका प्रकाश ढकाल, राससका बासु पौडेल, बाह्रखरी डटकमका बिशन क्षेत्री, गण्डकी टेलिभिजनकी उमा आलेमगर, अनलाइन खबर डटकमका युवराज गुरूङ (युनिश) र नागरिक दैनिकका उमेश पुनमगर सदस्य निर्वाचित भएका छन् । अध्यक्ष कोइराला अहिले आदर्श समाज दैनिकमा सम्पादक छन् ।
अधिवेशनको उद्घाटन सत्रमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन हरिबहादुर चुमानले संसदमा बोलेका कुराहरुको गहिराई खोजेर समाचार बनाउन पत्रकारहरुलाई सुझाए ।
‘पछिल्लो समय खोजी नगरी अरुले भनेको भरमा काम गर्ने पत्रकार हाबी भएको जस्तो भान भएको छ,’ उनले भने, ‘संसदीय पत्रकार मञ्च चनाखो भएर लाग्नुपर्छ ।’ संघीयताको बारेमा लेख्दा गहिराइमा गएर लेख्न उनले आग्रह गरे ।संघले अधिकार बाँडफाँड गर्दा मिलाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले संसदीय पत्रकार मञ्च सदनकै एउटा अंग जस्तै भएको विचार राखे । मञ्चले संघीयताको अनुभूति दिनका लागि प्रदेश सभालाई घच्घचाउने काम गरेको उनको भनाइ थियो । म्यान्मारमा भएको नरसंहारको भत्र्सना गर्दै त्यहाँ प्रजातन्त्र पुनर्वहाली हुनुपर्ने धारणा पनि पोखरेलले राखे ।
गण्डकी प्रदेश सभाका सदस्यहरु कृष्णबहादुर थापा, बिन्दुकुमार थापा, दीपक कोइराला हरिशरण आचार्यले पनि शुभकामना दिए । मञ्च अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव बिशन क्षेत्रीले गरेका थिए ।
तपाईको प्रतिक्रिया