दूध चाहिन्छ ९१ लिटर, पाइन्छ ७८

समाधान संवाददाता २०७७ चैत १ गते १७:४७

वार्षिक २२ लाखभन्दा बढी टन दूध उत्पादन

अनुप पौडेल, पोखरा

नेपालमा सानाठूला गरेर ५ सयभन्दा बढी डेरी उद्योग छन् । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार तिनमा ३० अर्बको हाराहारीमा लगानी छ । राष्ट्रिय उत्पादनमा र ग्रामीण स्वरोजगार विकासको मुख्य अंग भएको दाबी गर्छन् ।

Advertisement

‘दुग्ध क्षेत्रको मात्र कुल राष्ट्रिय उत्पादनमा ९ प्रतिशत योगदान छ । दैनिक ५ करोड र वार्षिक १२ अर्ब सहरबाट गाउँतर्फ नगद प्रवाह भएको छ,’ दाहाल भन्छन्, ‘त्यसैले यो व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग हो भन्ने प्रमाणित भइसकेको छ ।’

विश्व खाद्य तथा कृषि संगठनका अनुसार दूधमा आत्मनिर्भर बन्न दैनिक २ सय ५२ मिलिलिटर वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति दूध आवश्यक पर्छ ।

Advertisement

तर कृषि प्रधान देश भनिए पनि नेपालमा माग जति उत्पादन हुन सकेको छैन । डेरी उद्योग संघका अनुसार नेपालमा अहिले दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रति वर्ष छ ।

गत वर्षको तुलनामा ४ प्रतिशत हाराहारी दूध उत्पादन बढेको छ । तर जाडो महिना (असोजदेखि फागुनसम्म)मा उत्पादन बढी हुँदा किसानको दूधले बजार नपाउने अवस्था छ भने गर्मी (चैत—भदौ)मा दूध अभाव भएर आयात गर्नुपर्छ ।

निर्यात हुने दूधसँग प्रतिस्पर्धा गर्न मौसम अनुसार धुलो दूधको मूल्य तलमाथि हुने गरेको छ । अहिले वार्षिक २२ लाखभन्दा बढी टन दूध उत्पादन भइरहेको संघको दाबी छ ।

संघका अध्यक्ष दाहाल किसानबाट उत्पादित दूधलाई धुलो र नौनी बनाएर बिक्री गरिएकाले आयात प्रतिस्थापनमा सहयोग पुगेको बताउँछन् ।

‘लकडाउनमा किसानबाट करिब १ अर्ब बराबरको १ करोड २० लाख लिटरभन्दा बढी दूध संकलन गरेर ९ सय टन धुलो दूध र ६ सय टन बटन उत्पादन गरेका छौं । त्यसले आयात प्रतिस्थापनमा ठूलो योगदान दिएको छ,’ अध्यक्ष दाहालले भने ।

नेपालमा चितवन मिल्क लिमिटेड र पोखराको सुजल डेरीमा धुलो दूध बनाउने गरिएको छ । चालु आर्थिक वर्षमात्रै ९० लाख लिटर दूध कन्भर्सन (रुपान्तरण) भएको अध्यक्ष दाहालले जानकारी दिए । सामान्य दूधभन्दा धुलो दूध ५० देखि ६० रुपैयाँ महँगो पर्छ ।

अन्तर्राष्ट्रिय धुलो दूधसँग प्रतिस्पर्धा गर्न प्रतिलिटर ६ रुपैयाँ ढुवानी अनुदान अल्पकालीन रुपमा र मौसम अनुसारको मूल्य चाहिने अध्यक्ष दाहाल बताउँछन् । ‘उत्पादन लागत खर्च बढी भएको हुँदा स्वदेशी दूधबाट पाउडर बनाउँदा प्रतिकेजी ६० रुपैयाँसम्म महँगो पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रियधुलो दूधसँग प्रतिस्पर्धी बनाउन ढुवानी अनुदान र जाडोमा सस्तो र गर्मीमा महँगो गर्नुपर्छ ।’

दूध बोक्ने गाडीमा छिट्टै लोगो

नेपालमा दूधजन्य पदार्थको ढुवानीमा समस्या छ । कोभिडकै समयमा पनि दूध बोक्ने गाडीलाई ढुवानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव स्वीकार्छन् ।

बेलाबखत सिर्जना हुने यस्तै समस्यालाई ध्यानमा राखेर दुग्धजन्य पदार्थ बोक्ने गाडीमा लोगो प्रयोग गर्ने तयारी भइरहेको उनले सुनाए ।

एक हप्ताभित्रै कार्यविधि बनाइने र लोगो वितरण प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने निर्देशक डा. यादवले बताए । उनी दूध बोक्ने गाडीमा लोगो प्रयोग कुनै पनि देशमा नरहेकाले नयाँ कन्सेप्ट भएको दाबी गर्छन् ।

‘कहिलेकाहीँ प्रहरीले बुझेर पनि समस्या देखाउँछ । त्यसैले ढुवानीमा समस्या नहोस् भनेर एम्बुलेन्समा जस्तै लोगो प्रयोग गर्दैछौं,’ उनले दाबी गर्दै थपे, ‘अध्ययन गर्दा कतै पनि यस्तो कन्सेप्ट पाइनँ । नेपालबाट सुरुआत गर्दैछौं ।’

दूधले बजार नपाएपछि किसानले ‘मिल्क होलिडे’ मनाउनुपर्ने बाध्यता पछिल्ला वर्षमा कम भएपनि पूरै रोकिएको छैन । किसानको दूधलाई धुलो दूध बनाइने गरेकाले ‘मिल्क होलिडे’ कम भएको छ ।

कहिलेकाहीँ उद्योगले दूध नलिइदिने भएकाले किसानको समस्यालाई समाधान गर्न देशका ३ ठाउँमा चिस्यान केन्द्र बनाउने तयारी भइरहेको निर्देशक डा. यादवले सुनाए ।

‘दूध बिदा न्यूनीकरण गर्न कोल्ड स्टोर बनाउनपर्छ भनेर पोखरा, चितवन र विराटनगरमा बनाउने गरी सैद्धान्तिक सहमति भएको छ । अर्को बजेटमा यो कुरा आउँछ,’ उनले भने ।

‘डेरीमा विदेशी लगानी आउनु हुँदैन’
नारायणप्रसाद देवकोटा , अध्यक्ष, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ

गरिब, विपन्नले पशुवस्तु पाल्ने अवस्था छैन । पशुको बिमालाई धितो मानेर सरकारले किसानलाई ऋण दिनुपर्छ । अहिले कुरा आइरहेको छ, किसानको भीड बढेको छ तर दूध पुगेको छैन ।

चाइनाको गाई ल्याउनेभन्दा किसान र उद्योगी विरोध गर्छन् । मिल्क होलिडे भएकै छ, विदेशी लगानी आएको छ जसले ठूलाठूला उद्योग बनाउँछु भनेकै छ ।

किसान र उद्योगी विरोध गरिरहेकै छन् भनेर आउँछ । विदेशी लगानी किसानको हितको निम्ति छैन त्यसैले विरोध गरेका हौं, उद्योगको माया लागेर होइन । चीनको गाईसँग प्रतिस्पर्धा गर्न नसकेपछि त्यसले नेपालको व्यापारलाई छरपस्ट बनाउँछ । त्यो गाई ल्याएर विपन्न किसानलाई २÷२ वटा दिने र दूध उत्पादन गर्ने, त्यसको प्रविधि, ब्रिड ल्याएर काम गरे हामीले विरोध गर्दैनौं ।

धेरै बहुराष्ट्रिय कम्पनी आए, बन्द भएर गए । त्यहाँका मजदुरहरुले धेरैभन्दा धेरै पैसा आर्जन गरे । १० वर्षसम्म त्यसले धेरै सुविधा पाउने, कर पनि न्यूनतममात्रै तिर्न पर्ने अवस्था सिर्जना हुन्छ । अहिले विदेशी लगानीका डेरी उद्योगलाई राखौँला, अनि यहाँ भइराखेका उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर कोल्याप्स हुन्छ ।

त्यो बहुराष्ट्रिय कम्पनी विभिन्न बहाना बनाएर, किसानले आन्दोलन गरेर बन्द ग¥यौं भने त्योबेला हामी कहाँ जाने ?

यहाँका उद्योगलाई कठालो समातेर, प्रतिस्पर्धा गरेर एउटै टेबुलमा बसेर, जे गरेर भए पनि त्यहाँ दूध पठाउन सक्छौं । त्यसैले पनि यहाँ भइरहेका उद्योगलाई कसरी व्यवस्थित बनाउने ? कसरी अगाडि बढाउने ?दुग्धजन्य पदार्थ कसरी बिक्री कसरी व्यवस्थित गराउने भन्नेतर्फ लाग्न आवश्यक छ ।

स्वदेशकै कम्पनीलाई धेरैभन्दा धेरै सुविधा दिएर यहाँका उद्योगलाई प्रतिस्पर्धी बनाउन सके प्रभावकारी हुन्छ ।

तपाईको प्रतिक्रिया