लेकसाइड जाने सडकमा दुर्घटना न्यूनीकरणको पहल

समाधान संवाददाता २०७७ चैत २ गते ९:४७

बुलौंदीको ओरालोमा दुर्घटनाका कारण फागुनमा मात्रै २ जनाको ज्यान गयो

समाधान संवाददाता, पोखरा

पोखरा महानरपालिका ६ र ७ को सीमा नुवारथोक र जरेबरको बीचमा रहेको बुलौंदी खोला क्षेत्रको मुख्य सडकमा दुर्घटना न्यूनीकरण गर्न स्थानीयले पहल थालेका छन् ।

Advertisement

लेकसाइड जाने मुख्य सडकमा रातको समयमा बढी दुर्घटना हुन थालेपछि नुवारथोक टोल विकास संस्थाको पहलमा सरोकारवाला निकायको सहभागितामा आइतबार अन्तत्र्रिmया कार्यक्रम भएको हो ।

आयोजक संस्थाका अध्यक्ष दामोदर बरालले लेकसाइड जाने व्यस्त सडकबीचको डिभाइडरमा संकेत चिह्न नहुँदा सडक दुर्घटना बढेको बताए ।

Advertisement

फागुनमा मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना युवकको ज्यान गएको उनले सुनाए । हरेक महिना कुनै न कुनै सडक दुर्घटना हुने भएकाले डिभाइडरमा संकेत दिने चिह्न राख्न र हिट एन्ड रनको घटना पनि हुने गरेकाले सिसी क्यामेरा जडान गर्न नुवारथोक टोल विकास संस्थाका अध्यक्ष बरालले जोड दिए ।

नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले सडक दुर्घटना न्यूनीकरण गर्न सरोकावाला अड्डाले बेलैमा पहल गर्नुपर्ने खाँचो औंल्याए । नेपाली कांग्रेस पोखरा ७ का सभापति नवीनराज बरालले नुवारथोक—बुलौंदी—जरेबर क्षेत्रको ओरालोमा पहिलेदेखि नै सडक दुर्घटना धेरै हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि वैज्ञानिक रुपमा सडकको सुधार गर्नुपर्ने बताए ।

डिभाइडरमा रातमा टल्कने गरी कुनै संकेत चिह्न नहुँदा मोटरसाइकल, कार रातमा डिभाइडरमा ठोक्किएर धेरैजसो दुर्घटना हुने गरेको नुवारथोक टोल विकास संस्थाका पूर्वअध्यक्ष ठाकुरप्रसाद बरालले बताए ।

‘दुबैतर्फ ओरालो भएका कारण सडक दुर्घटना बढी हुने गरेको छ,’ उनले भने, ‘पुल क्षेत्रको भागलाई करिब १ मिटर उचाइ बढाउनुपर्छ ।’

पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र बरालले डिभाइडरमा संकेत चिह्न राख्ने र रंगरोगन लगाउने काम छिट्टै सुरु हुने सुनाए ।

पोखरा महानगरपालिका ६ का कार्यवाहक अध्यक्ष हरिकृष्ण पहारीले जरेबर र नुवारथोक क्षेत्रमा सिसी क्यामरा राख्न पहल गर्ने प्रतिबद्धता जनाए ।

पोखरा महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले ओरालो सडक हुनु र नयाँ बनेको पिचका कारण सवारी चालकले हाँक्दा बढी गर्दा दुर्घटना बढेको हुँदा दुर्घटना न्यूनीकरण गर्न आवश्यक पहल गरिने बताए ।

सडक दुर्घटना न्यूनीकरण गर्न नागरिक र सुरक्षाकर्मी सँगसँगै मिलेर काम गर्नुपर्ने वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी चिनिमाया तामाङले बताइन् ।

कार्यक्रममा समाधान राष्ट्रिय दैनिकका अध्यक्ष उमनाथ बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, जरेबर टोल विकास संस्थाका अध्यक्ष रामु न्यौपाने, नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष सञ्जय पौडेल, जरेबर टोल विकास संस्थाका सचिव ईश्वर बराल, स्थानीय मुन्ना साह लगायतले सडक दुर्घना न्यूनीकरणका लागि पहल गर्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया