धुम्बाराही वार्ता सौहार्द तर निष्कर्षविहीन

समाधान संवाददाता २०७७ चैत २ गते १५:०४

काठमाडौं

नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सौहार्द छलफल भएको छ। तर वार्ताबाट कुनै निष्कर्ष ननिस्किएको दुवै पक्षका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच करिब ४ महिनापछि भेटवार्ता भएको हो। सोमबारको छलफलमा दुवै पक्षबाट मन माझ्‍ने र तितो पोख्‍ने काम भएको छ। बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए। तर प्रधानमन्‍त्री ओलीले त्यसलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरे पनि निर्णय सच्चाउने संकेत भने दिएका छैनन्।

Advertisement

प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।

एमालेका उपाध्यक्ष भीम रावलले फागुन २८ को निर्णय फिर्ता भएपछि थप वार्ता हुने बताए। उनले भने, आज छलफल राम्रै भयो तर कुरा केही मिलेको छैन। वामपन्थी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ। नेकपा एमालेलाई विभाजन हुने कुनै पनि क्रियाकलापको हामी विरुद्धमा छौं। पार्टीको विधान, प्रणाली र औपचारिक गतिविधिबाट नभएका निर्णयहरु मान्य हुनेछैनन्। २८ गते भएको बैठकको निर्णयलाई स्थगित गरिनुपर्छ।’

Advertisement

बैठकमा सहभागी सुवास नेम्वाङले फागुन २८ गतेको निर्णयलगायतक विषयमा मतान्तर रहे पनि छलफल सरकारात्मक रहेको बताए। अर्का सहभागी रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ’वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं। अब प्रधानमन्त्रीले यसलाई सकारात्मक तरिकाले अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिइएको छ।’

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।

अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दै छ । दुवै पक्षले फरकफरक रुपमा भेला र बैठक आयोजना गर्दा विभाजन झन् जटिल हुने खतरा देखिएपछि दुवैतिरका तटस्थ नेताहरूको पहलमा धुम्बाराही बैठकको पहल गरिएको हो। धुम्बाराही बैठकपछि दुवै पक्षका नेताहरू समझदारी र एकताको खाका कोर्न आन्तरिक गृहकार्यमा व्यस्त भएका छन्।

‘यति लामो मतभेद एकचोटि बस्दैमा मिल्दैन सक्दैन । तर, बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने । रावलका अनुसार अर्को छलफलको मिति तय भएको छैन ।

तपाईको प्रतिक्रिया