तेज गुरुङ प्रदेश खेलकुद परिषद सदस्य सचिव

समाधान संवाददाता २०७७ चैत २ गते १५:३४

पोखरा, २ चैत

गण्डकी प्रदेश मन्त्रिपरिषदले तेजबहादुर गुरुङलाई प्रदेश खेलकुद परिषद (प्रखेप) सदस्य सचिव नियुक्त गरेको छ ।

खुला प्रतिस्पर्धात्मक आह्वानअनुसार आवेदन गरेका गुरुङलाई आइतबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए ।

Advertisement

उक्त जिम्मेवारीका लागि तेज गुरुङ र नवराज अधिकारीको आवेदन परेको थियो ।

गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सरकारले प्रखेप सदस्य सचिव चयन गर्न सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजक रहेको ३ सदस्यीय समिति गठन गरेको थियो ।

Advertisement

समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेलविज्ञ दिलबहादुर गुरुङ सदस्य थिए ।

पोखरा १६ अर्मलाकोटका स्थायी बासिन्दा तेज नेपाल ह्यान्डबल संघको केन्द्रीय अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन् । उनी ह्यान्डबलका खेलाडी हुन् ।

२०३९ सालदेखि उनी ह्यान्डबलसँग जोडिएका थिए । सुरुमा भने उनले चुनेको खेल बास्केटबल थियो । गुरुङको प्रशिक्षणमा हङकङमा नेपालले ह्यान्डबलमा पदकसमेत जितेको थियो ।

गुरुङ भूतपूर्व खेलाडी मञ्चमा सक्रिय हुँदै ह्यान्डबल र पोखरा म्याराथन प्रतियोगिताको आयोजनासहितका खेल गतिविधि प्रवर्धनमा क्रियाशील छन् । भूतपूर्व खेलाडी मञ्चमा उनी अध्यक्ष छन् ।

भारतको पटियालामा एनआइएस प्रशिक्षणमा पहिलो नेपाली गोल्डमेडलिस्ट बन्न सफल उनले सन् १९८५ मा जोर्डनको अम्मानमा सम्पन्न एसियाली च्याम्पियनसिपमा नेपाली टिम कप्तान भएका थिए ।

तपाईको प्रतिक्रिया