कबड्डीले चिनाएको नाउरिकोट

समाधान संवाददाता २०७७ चैत ६ गते १६:०७


सुन्दरकुमार थकाली


जोमसोम, ६ चैत


मुस्ताङको नाउरिकोट गाउँ पछिल्लो समय निकै चर्चामा छ । थासाङ गाउँपालिका २ मा अवस्थित नाउरिकोट गाउँमा जब नेपाली चलचित्र कबड्डी सुटिङ भयो त्यसपछि यो गाउँ एकाएक चर्चामा आएको होे ।

Advertisement


समुद्री सतहदेखि करिब २७ सय मिटर उचाइमा अवस्थित नाउरिकोटमा २०७० सालमा कबड्डी नामको नेपाली चलचित्र सुटिङ भएको थियो । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकदेखि करिब २ किमी पश्चिम उकालो गन्तव्य पार गरेपछि नाउरिकोट पुगिन्छ । कबड्डी चलचित्र हेरेका अधिकांश दर्शक नाउरिकोट गाउँ घुम्न आउने गरेको गुरुसाङ्वो होटलका प्रोपाइटर मनोज गौचनले जानकारी दिए । उनले पछिल्लो समय नाउरिकोटमा चलचित्र सुटिङका लागि पनि आउने गरेको बताए ।


हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा पर्ने पर्यटकीय गाउँ नाउरिकोट चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री सुटिङ तथा विभिन्न खोज अनुसन्धानको केन्द्र बनेको हो । धवलागिरि हिमालको काखैमा अवस्थित नाउरिकोट गाउँ सुन्दर र अत्यन्तै मनमोहक छ । पूर्वको निलगिरि र पश्चिमको धवलागिरि हिमालको नजिकैबाट साक्षात रुपमा अवलोकन गर्ने सकिने भएकाले पर्यटकका लागि नाउरिकोट आर्कषक गन्तब्य बनेको हो ।

Advertisement


नाउरिकोटमा पुग्ने आन्तरिक पर्यटकले कालिगण्डकी करिडोरको समथर भूगोल, स्याउ, उवा र फापर खेत, गुरुसाङ्वो गुफा, भुतर्छो, सेकुङ ताल, खर्कमा रहेका याकचौरी बथान र थकाली कलासंस्कृति झल्किने सांस्कृतिक सम्पदा अवलोकन गर्न सकिन्छ ।
मुस्ताङको पर्यटकीय गाउँ नाउरिकोट अत्यन्तै शान्त, सुन्दर र मनमोहक रहेको मुक्तिनाथ दर्शनका लागि पोखराबाट मुस्ताङको नाउरिकोट पुगेका पर्यटक हिमलाल शर्माले बताए । उनले कबड्डी चलचित्र सुटिङ भएको आधारमा आफूहरु नाउरिकोट आएको जानकारी दिए ।


पर्यटकीय गाउँ नाउरिकोटबाट तल्लो मुस्ताङको सम्पूर्ण अथाह भूगोल अवलोकन गर्न सकिने हुनाले एक पटक पुग्नै पर्ने ठाउँ नाउरिकोट रहेको शर्माले उल्लेख गरे । कबड्डी चलचित्रको कथा अनुसार नाउरिकोटमा मायाले होटल गरेको गुरुसाङ्वो होटल छ । नाउरिकोटमा पुग्ने पर्यटकले त्यही मायाले होटल गरेको गुरुसाङ्वो होटल सोध्ने गरेको स्थानीय बताउँछन् ।


करिब २५÷३० घरधुरी रहेको नाउरिकोटमा अधिकाश थकाली समुदायको बसोबास छ । नाउरिकोटमा घरका छत माथि र घरका वरपर लस्करै पाजिएको दाउराले मुस्ताङको थकाली संस्कृति उजागर गरेको पाईन्छ । फर्रर÷फुर्रर पानी पर्ने स्थानमा भएकाले नाउरिकोट गाउँलाई थकाली भाषमा यसलाई नाफ्रुङकोट भन्ने गरिएको हो ।


रमणीय दृष्यावलोकन स्थल, थकाली कलासंस्कृति, स्थानीय स्वादिष्ट अर्गानिक खानाका परिकार र पर्यटक आतिथ्यताका कारण नाउरिकोटले पर्यटक लोभ्याउने गरेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी श्राद्ध स्थल, उपल्लो मुस्ताङको लोमान्थाङ र कोरलानाका पुगेका आन्तरिक पर्यटकको रोजाइ नाउरिकोट बनेको छ । बेनी—जोमसोम मुख्य सडकबाट सवारी साधनमार्फत १० मिनेटमा नाउरिकोट पुग्न सकिने सडक समेत विस्तार भइसकेको छ ।

तपाईको प्रतिक्रिया