मुस्ताङका याक, चौरीलाई ‘खोरेत’ भ्याक्सिन

समाधान संवाददाता २०७७ चैत ७ गते १३:१०

एसके थकाली, जोमसोम

मुस्ताङको थासाङमा याक, चौरीलाई ‘खोरेत’ विरुद्ध भ्याक्सिन अभियान सञ्चालन गरिएको छ । खोरेतको जोखिमबाट याक, चौरीलाई सुरक्षित बनाउन थासाङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा भ्याक्सिन लगाउन थालिएको हो ।

मुस्ताङमा किसानले पालेका याक, चौरीमा रोगका कारण आर्थिक क्षति व्यवहोर्नु नपरोस् भन्ने उद्देश्यले खोरेत रोग विरुद्ध पालिकाले १ लाख बजेट उपलब्ध गराएको स्वास्थ्य संयोजक रामशरण सापकोटाले बताए ।

Advertisement

कास्कीका विभिन्न स्थानमा गाई, भैसी,बाख्रा र बंगुर लगायतका पशुमा खोरेत रोग देखा परेपछि गाउँपालिकाले खोरेत विरुद्ध उच्च सर्तकता अपनाउँदै भ्याक्सिन लगाउन सुरु गरेको हो ।

शनिबारदेखि १ सातासम्म भ्याक्सिन लगाइने स्वास्थ्य संयोजक सापकोटाले बताए । थासाङमा कार्यरत करारका ३ नायब पशु स्वास्थ्य प्राविधिकलाई भ्याक्सिन लगाउन खटाएको छ ।

Advertisement

शनिबार भ्याक्सिन लगाउने अन्तिम दिन हो । शुक्रबारसम्म थासाङको २, ३ र ५ वडाका ६ सय ८९ याकचौरीलाई भ्याक्सिन लगाइएको पशु प्राविधिक इच्छा शेरचनले जानकारी दिइन् ।

शनिबारसम्म ८ सय याक, चौरीलाई भ्याक्सिन लगाउने लक्ष्य छ । मुस्ताङमा हिउँद यामको जाडो मौसममा उच्च लेकमा रहेका याकचौरी बेंसी झारिन्छ ।

गर्मी बढेसँगै उच्च लेकमै याकचौरी स्थान्तरण गर्ने समयमा थासाङमा चौपायालाई भ्याक्सिन लगाइ्एको अर्का पशु प्राविधिक प्रज्ञा तामाङले बताइन् । उनले प्रसूति अवस्थामा रहेका याकचौरीलाई भ्याक्सिनले असर पु¥याउने हुनाले ती पशुलाई भ्याक्सिन नलगाएको बताइन् ।

खोरेत लागेका पशुमा मुखभित्रको म्युकस झिल्ली रातो हुने, जिब्रो, गिजा र खुट्टाका २ खुरको बीचमा फोका बन्ने, मुखबाट बाक्लो लस्सादार ¥याल चुहिरहने, खुट्टा खोच्याउने, १ सय ६ डिग्री फरेनहाइट ज्वरो आउने, दानापानी नखाने, दुहुना पशुको दूध घटाउने आदि लक्षण देखिन्छन् ।

तपाईको प्रतिक्रिया