मर्स्याङ्दीमा ट्रक खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो

समाधान संवाददाता २०७७ चैत ८ गते १०:१६

समाधान संवाददाता

लमजुङको बेंसीसहरबाट मनाङको चामेतिर सिमेन्ट लिएर जाँदै गरेको ट्रक मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मनाङको नासों गाउँपालिका ३ खोत्रोको उकालो चढ्ने क्रममा ट्रक ब्याक भएपछि सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

Advertisement

सिमेन्ट बोकेर जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक खोत्रोमा शनिबार दिउँसो साँढे ३ बजेतिर दुर्घटना भएको मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताएका छन् । उनका अनुसार दुर्घटनामा परी नासों गाउँपालिका ४ ओढारका ३५ वर्षीया मनीषा गुरुङ, उनकी बहिनी ३१ वर्षीया जलकाशी गुरुङ र मनीषाका कान्छो छोरा करीब डेढ वर्षका लियोन गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

२ जनाको उपचारका लागि लमजुङको बेंसीसहरतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

सहचालक मर्स्याङ्दी गाउँपालिका ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ ओडारका २५ वर्षीय राजु विश्वकर्माको उपचारका लागि बेंसीसहर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । लक्ष्मण र राजुलाई जिल्ला अस्प्ताल लमजुङका डाक्टरले शनिबार राति साढे ८ बजेतिर मृत घोषणा गरेका थिए । बेंसीसहरस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरी चितवनस्थित पुरानो मेडिकल कलेज लगिएका ४ वर्षीय थियोन गुरुङको उपचारको क्रममा राती करीब १२ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । थियोन मनीषाको जेठो छोरा हुन् ।  

तपाईको प्रतिक्रिया