लामाचौरको इन्जिनियरिङ क्याम्पसका ४० विद्यार्थीलाई कोरोना, ६ सय जनाको स्वाब संकलन

समाधान संवाददाता २०७७ चैत ८ गते २१:४०

समाधान संवाददाता, पोखरा

इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) लामाचौरका ४० विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

क्याम्पसकै छात्रावासमा बस्ने स्नातक तहका ४० विद्यार्थीलाई कोरोना संक्रमण देखिएको हो । शुक्रबार ३२ र त्यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

Advertisement

संक्रमितमध्ये ३६ जना क्याम्पसमै र ४ जना होम आइसोलेसनमा रहेको सहायक क्याम्पस प्रमुख सुनील दाहालले बताए ।

‘कसैलाई पनि गम्भीर समस्या छैन । संक्रमितलाई छुट्टै राखेका छौं,’ उनले भने, ‘केही समस्या परे प्रदेश सरकारको अस्पतालमा राख्न सकिन्छ भनेर महानगर, प्रदेश र जिल्ला प्रशासनबाट भन्नुभएको छ ।’

Advertisement

क्याम्पसमा पछिल्ला समय जमघट नभएको दाहालले बताए । ‘समुदायमा पहिल्यैदेखि रहेको हुनुपर्छ ।अहिले पोखरामा आउजाउ खुला छ । बाहिर आउजाउ गर्ने क्रममा विद्यार्थीलाई लागेको होला । होस्टलमा सँगै बस्ने र टेस्ट पनि भएकाले देखिएको हो,’ उनले भने ।

४० जनामा पोजेटिभ देखिएपछि शनिबार क्याम्पसका ६ सय ३० जनाको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आइसकेको छैन ।

विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहका सबै वर्षको परीक्षा स्थगित गरिएको छ । ३ चैतदेखि गर्ने भनिएको नियमित तथा पुनः परीक्षा विद्यार्थीको आग्रहमा हाललाई स्थगित गरेको थियो ।

गण्डकी प्रदेशमा आइतबारसम्म १६ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार कास्कीका ७, बागलुङका ४, म्याग्दीका २ र पर्वतका १ गरेर १४ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये १५ हजार ९ सय ४३ जना निको भएको र २ सय ५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया