मर्दी पदमार्गमा ४ दिन – जंगल, हिउँ छिचोल्दै बेसक्याम्पसम्म

समाधान संवाददाता २०७७ चैत ८ गते २१:०३

आँखै अगाडि देखिने सेता पहाडले जो कोहीलाई भुलाउँछ । घन्टौं हिँड्दाको दुखाइ माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिउँचुली, मर्दी देखेपछि त्यसै हराइजान्छ । हिमाल हेर्न पाएपछि मर्दी पदयात्रा गएकाहरु सायदै निराश भएर फर्किन्छन् । हिँडिरहँदा अघिल्लो डाँडामा के होला भन्ने उत्सुकताले पदयात्रीलाई तानिरहन्छ ।

यसैको मज्जा लिन र पदयात्रा सामग्री चिनारी कार्यक्रममा पोखरेली पर्यटन व्यवसायी पनि चैतको सुरुआतसँगै मर्दी पदयात्रामा निस्किए । ट्रेकिङ इक्युप्मेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्री चिनारी कार्यक्रम लिएर १ देखि ४ चैतसम्म ३० जनाको टोली मर्दी पदयात्रामा गएको थियो ।

कास्कीको काँडेबाट यात्रा सुरु गरेको टोली पोथाना, फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, भ्युपोइन्टसम्म पुग्यो । ११ जना भने मर्दी हिमाल बेसक्याम्प (४५ सय मिटर) सम्म पुगेको थियो ।

Advertisement

बादलडाँडाबाट हाइक्याम्प जाँदै गर्दा उनीहरुले हिउँको मज्जा लिए । भ्युपोइन्टबाट हाइक्याम जानेहरु हिउँमा टेक्दै पुगे । साे टोली फर्किंदा हाइक्याम्प, बादलडाँडा, लोक्याम्प, सिदिङ हुँदै झरेको थियो । त्योबेला पदमार्गमा रहेको प्लास्टिकजन्य फोहोर संकलन गरे ।

फोहोर संकलन गर्दै पदयात्रामा पुगेका टेसा पोखराका पदाधिकारी

अधिकांश पहिलोपटक मर्दी पदयात्रामा गएका थिए । पदयात्रामा गएकाहरुले पदमार्ग मासेर मोटर बाटो बनाउन नहुने, सफाइमा ध्यान दिनुपर्ने, हिउँको मज्जा लिन उपयुक्त गन्तव्य मर्दी भएको बताएका छन् । मर्दी पदयात्रा गरेर फर्किएका व्यवसायीको सुझाव र अनुभव यस्तो छः

Advertisement

जोखिमपछि अनुपम आनन्द

रामचन्द्र गिरी, पदयात्रा संयोजक

राउन्ड अन्नपूर्ण र अन्नपूर्ण बेस क्याम्प गइसकेको थिएँ । पछिल्लो समय राम्रो चर्चा पाइरहेको मर्दी जाने इच्छा थियो । अहिलेसम्म पुगेका ट्रेकिङ गन्तव्यमध्ये अहिलेसम्मकै उत्कृष्ट ठाउँ मर्दी हिमाल ट्रेक हो । धेरै पदयात्री बेसक्याम्प पुग्नु हुँदैन, म अरु साथीहरुसँगै मर्दी हिमालको बेसक्याम्पसम्म पुगेँ ।

पदमार्गमा बस्ती छैन, होटल र टि हाउस छन् । कसरी धानिरहने भन्ने भएकाले कोरोनाले गर्दा अहिले भीडभाड छैन । प्रकृतिसँग रमाउन पाउनु, पोखराबाट गएर २ दिनमै हिउँसँग खेल्न पाउनु मर्दी पदमार्गको विशेषता हो ।मर्दी हिमालसम्म पुग्छु भन्नेलाई रुट जोखिमपूर्ण छ । त्यो जोखिम मोलेर प्रकृतिबाट जुन आनन्द लिन सकिन्छ त्यो अनुपम छ ।

पदयात्राको उद्धेश्य हाम्रो प्रोडक्टले कस्तो काम गरेको छ भन्ने बुझ्नु थियो । तर, त्यहाँको फोहोर देखेपछि हामीले सरसफाइ अभियान नै चलाएर फर्कियौँ । हाइक्याम्पबाट पदयात्रा सकिने ठाउँ सिदिङसम्म आउँदा २५ केजी प्लास्टिकजन्य फोहोर व्यवस्थापन ग-यौँ ।

मर्दी पदयात्रामा सुधार गर्नुपर्ने भनेको फोहोर व्यवस्थापन हो । नेपालीले फोहोर गर्छन् तर विदेशीले त्यसलाई टिपेर व्यवस्थापन गर्छन् । अहिले विदेशी निकै कममात्रै पुगेको देखियो । समयमै फोहोर व्यवस्थापनमा ध्यान नदिए यसले पदमार्गबारे नराम्रो सन्देश जान्छ ।

‘टि हाउस ट्रेक’ बचाइराखौँ,

टीकाराम सापकोटा, पूर्वसदस्य, नेपाल पर्यटन बोर्ड

क्याम्पिङ ट्रेकिङमा मर्दी पदमार्गमा निकै पर्यटक पठाइन्थ्यो । त्योबेला २ पदयात्रीलाई क्याम्पिङ ट्रेकिङमा पठाउँदा १५ जना सहयोगी पठाउन पर्दा महँगो थियो । पुनः आउने पर्यटक जो राउन्ड अन्नपूर्ण, अन्नपूर्ण बेस क्याम्प गइसके तिनीहरुलाई पनि असाध्यै राम्रो गन्तव्य बनेको छ मर्दी हिमाल ।

चिनियाँ पदयात्री ४/५ दिनको ट्रेकिङ गर्न रुचाउँछन्, ३०/४० दिनको ट्रेकिङ गर्न चाहँदैनन् । त्यसैले उनीहरुलाई पनि मर्दी ट्रेक आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

पदमार्गको फरेस्ट क्याम्पभन्दामाथि बस्ती छैन । जहाँ वस्ती छ त्यहाँ बाटो चाहिन्छ । तर क्याम्पभन्दा माथि वस्ती छैन । त्यसकारण यसको दिगोपनका लागि बाटो नहुनु राम्रो हुन्छ । ट्रेकिङ रुटलाई दिगो राख्न गाह्रै हुन्छ । मर्दी रुटलाई जसरी हुन्छ ‘टि हाउस ट्रेक’ को रुपमै राख्नुपर्छ ।

हिँड्दाहिँड्दै हिउँ प¥यो, त्यसले अझ प्रकृतिको मज्जा लिने मौका मिल्यो । मर्दी हिमाल ट्रेक एकदम फस्टाएको छ । यहाँ नेचर छ तर कल्चर छैन । जहाँ बस्ती, भेषभुषा, मठमन्दिर, संस्कृति हुन्छ त्यहाँ कल्चर हुने हो । यो रुटमा कल्चर नभए पनि २/३ दिनमा माछापुच्छ्रे, हिउँचुलीजस्तो पिकहेर्न पाइन्छ । त्यसैले कल्चर नभए पनि प्राकृतिक रुपमा मर्दी उत्कृष्ट गन्तव्य हो ।

हिउँको मज्जा लिने गन्तव्य

चिरञ्जीवी पोखरेल, निवर्तमान अध्यक्ष, पोखरा पर्यटन परिषद्

मर्दी हिमाल पदमार्ग पोखराबाट एकदम नजिक, छोटो समयमा नजिकै पुगेर हिमशृंखलाको स्वाद लिन चाहनेलाई उपयुक्त गनतव्य हो । यो पदमार्ग पछिल्ला दिनमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको छ । यसलाई दीगोपना दिन कसरी अगाडि बढ्ने भन्नेबारे अब गम्भीर भएर सोच्नुपर्छ ।

यो पदमार्गमा आन्तरिक पर्यटक बढिरहँदा फोहोरमैला व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि बढेको छ । ठाउँठाउँमा बोर्ड राख्दा राम्रो हुन्छ । ४ दिनको यात्रामा हाइक्याम्प क्षेत्र जाँदै गर्दा बीचमा हिउँ प-यो ।

हाइक्याम्पमा परेको हिउँ

बादलडाँडाबाट हाइक्याम्प जाँदा बीचमा हावाहुरी, बतास चल्दा, हिउँ पर्दा सेल्टरको आवश्यकता छ । हिउँको मज्जा लिन चाहने पदयात्रीलाई मर्दी असाध्यै राम्रो गन्तव्य हो । यसलाई कसरी संरक्षण गर्ने, दीगोपन दिने, अझै प्रवद्र्धनको क्याम्पिङ चलाउन जरुरी छ ।

पदमार्ग सफाइमा ध्यान दिनुपर्छ

टीकाबहादुर लम्साल, महासचिव, टेसा

धेरै पहिला अन्नपूर्ण बेसक्याम्पसम्म ट्रेकिङ गएको थिएँ । मर्दी हिमाल पदमार्ग पहिलोपटक पुगेँ । त्यहाँबाट देखिने प्रकृति एकदम राम्रो लाग्यो । नगएको ठाउँमा जाने भनेपछि स्वाभाविक उत्सुक भइन्छ । रमाइलो गर्नु नै थियो, त्यसबाहेक हामीले बेच्ने सामान कस्ता छन् भन्ने बुझ्नु थियो ।

वास्तवमा मर्दी सोचेभन्दा थोरै अप्ठेरोचाहिँ रहेछ । भिरालो बाटो भएकाले ध्यान दिनुपर्ने, उचाइको समस्या हुनेले विचार पु¥याउनुपर्छ, समूहमा जाँदा अझ मज्जा हुन्छ ।त्यहाँ जतिबेला पनि पानी पर्ने, हिउँ पर्ने, हिउँमा चिप्लिने सम्भावना भएकाले राम्रो खालको जुत्ता, लौरी, वाटरप्रुफ ज्याकेट, टोपी, चस्मा नछुटाउन जान चाहने पदयात्रीलाई सुझाव दिन्छु ।

समय अनुसार २ देखि ४ दिनसम्म छोट्याउन र बढाउन सकिने ट्रेक रहेछ । २ दिन समय हुने बादलडाँडा (हिमाल स्पष्ट देखिने ठाउँ), ३ दिन हुने हाइक्याम्प (पदमार्गअन्तर्गत होटल भएको अन्तिम ठाउँ) र ४ दिन हुने हिमालको अझै नजिक पुगेर फर्कन सकिने रहेछ ।

पदमार्ग सरसफाइमा भने ध्यान दिनुपर्ने देखियो । अन्नपूर्ण संरक्षण क्षेत्र वा त्यहाँको समुदायले प्रवेशविन्दुमै सचेत गराउनुप¥यो । यो कुरा गर्न पाइन्छ, यो पाइँदैन भनेर जानकारी दिनुपर्‍यो ।

त्यसबाहेक यो ठाउँ यति उचाइमा छ, यहाँ चियानास्ता गर्न सक्नुहुन्छ, बास बस्न सक्नुहुन्छ, यो इक्युपमेन्ट उपयुक्त हुन्छ भनेर ब्रोसर बनाएर जानकारी दिनुपर्ने देखेँ । त्यसबापत निश्चित शुल्क लिँदा हुन्छ । पर्यटकलाई प्रवेशविन्दुमै १० मिनेट पदमार्गबारे जानकारी दिन सके सम्भावित दुर्घटना पनि रोक्न सकिन्छ ।

अब अनुभव बाँड्न पाइन्छ

नारयण सुवेदी, पूर्वाध्यक्ष, टेसा पोखरा

हिमालसँगै जोडिएको पदयात्रामा खासै पुगेको थिइनँ । जोमसोमबाट मुक्तिनाथ गएको थिएँ, कास्कीकै घान्द्रुकको पनि अनुभव थियो । तर, मर्दीजस्तो हिउँ र हिमालसँग जोडिएर ट्रेकिङ गरेको थिइनँ । मर्दी ट्रेक गर्दा नेपालमा यति राम्रो ठाउँ, प्रकृतिले सजिएकी ठाउँ रहेछ, हेर्नुपर्ने रहेछ भन्ने भयो ।

मर्दी पदमार्ग जाँदा कस्ता सामग्री चाहिन्छ भन्ने बुझेँ । ४ दिन मर्दी पदयात्रा गर्दा कुन सामान लैजाँदा सुरक्षित भइन्छ, कुन सामान अत्यावश्यक छ, कुन सामान चाहिँदैन भन्ने बुझेँ । आफू पदमार्गमै चाहिने सामग्री बेच्ने भएकाले ग्राहकलाई आफ्नो अनुभवसहित भन्न पाउँदा अझ विश्वास बढ्छ ।

बादलडाँडा प्रवेश गरेपछि देखिएका हिमाल बायाँबाट क्रमशः अन्नपूर्ण साउथ, हिउँचुली र माछापुच्छ्रे

यही पदमार्गमा नेपाली र विदेशीको आकर्षण बढेको छ । कोभिडपछि विदेशी नआए पनि नेपालीहरु पदयात्रामा निस्किरहेको पाइयो । मर्दी पदमार्गले पोखरा सेरोफेरोको पर्यटन व्यवसायीलाई थोरै भए पनि राहत मिलेको छ ।

पदमार्गमा अल्लि बढी दुरीमा सेल्टरहरु रहिछ । साइनबोर्डहरु पनि राम्रोसँग राख्नुपर्ने पाएँ । एक ठाउँबाट अर्को ठाउँमा जाँदा कति समय लाग्छ भन्ने जानकारी दिन सके हिँडिरहेको पदयात्रीले जानकारी पाउँछन् । बेसक्याम्पसम्म पुगेँ, त्यहाँ जाने बाटोमा रेलिङ राख्न सके पर्यटक बढी सुरक्षित हुन्छन् भन्ने लाग्यो ।

उचाइसँगै थकान बिर्सिएँ

टंक सुवेदी, पर्यटन व्यवसायी

जति थकाइ लाग्दै गयो, त्यति मज्जा थपिँदै गयो । हरेक डाँडा कट्न लाग्दा, उचाइमा पुग्दा अब के देख्छु भन्ने उत्सुकता निकै बढ्यो । यसले थकाइको अनुभव नै भएन । थकाइहरु जति उचाइमा पुगेँ त्यति बिर्सिन थालेँ । हिँडिरहँदा हिमाल देख्न पाउँदा झनै आनन्द आयो । यसले मलाई फेरि पनि आउँछु भन्ने भएको छ ।

मर्दी पदमार्गमा आउन चाहने पर्यटकलाई एकपटक जानुस् भन्न चाहन्छु । मेरो दिमागमा बसेका हिमालका दृश्यले यहाँ आउन कोही छुट्नु हुँदैन भनिरहेको छ । अरु देशका मानिस आफ्नो देशलाई स्वर्ग बनाउन प्रयास गरिरहन्छन् । हामी स्वर्गजस्तो देशलाई अझ राम्रो बनाउन लाग्नुपर्छ । पर्यटन विकासका लागि पूर्वाधार निर्माणको खाँचो देखेको छु ।

प्रस्तुति – अनुप पौडेल (मर्दीहिमाल पदयात्राबाट फर्केपछि)

तपाईको प्रतिक्रिया