बेनी—जोमसोम सडक ४ दिन बन्द हुने

समाधान संवाददाता २०७७ चैत ९ गते २१:०२

एसके थकाली

उत्तरी—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक ४ दिनका लागि बन्द हुने भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत बेनी—जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी–जोमसोम सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

Advertisement

समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभे्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी—जोमसोम सडक पूर्ण रुपमा बन्द हुँदा पर्ने असुविधा प्रति क्षमा याचनासमेत गरेको छ ।
कालिगण्डकी करिडोर अन्र्तगत बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ । करिडोर अन्तर्गत प्याकेज नम्बर २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा गजुरमुखी जेभीले रककटिङको काम अघि बढाएको थियो ।

त्यहाँ करिब १६ सय मिटर सडकको रककटिङ गर्नुपर्ने जनाईएको छ । मुस्ताङ प्रवेश गर्ने काभ्रेभीर सडक बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । बर्खायामको मौसममा पहिरो र नदी कटानका कारण सडक निर्माण बाधा पुग्दै आइरहेको छ ।

Advertisement

यहाँ निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ । सोही खण्डको थासाङ—४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हँुदै आइरहेको छ । सडक स्तरोन्नति गरी सडक सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यस प्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले उल्लेख गरे ।

झन्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालबाट निर्माण सुरु भएको हो । जसअन्र्तगत जोमसोम –कोरला ग्राभेल सडकको काम समेत भइरहेको छ ।

करिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेजमध्ये ४ प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई हस्तान्तरण भइसकेको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको आयोजनाको भनाइ छ ।

तपाईको प्रतिक्रिया