अहिलेका सहकारी, हिजोका सामन्त – मुख्यमन्त्री

समाधान संवाददाता २०७७ चैत १२ गते १३:४६

समाधान संवाददाता, पोखरा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्थाहरु पहिलाका सामन्तजस्ता भएको बताएका छन् ।

उत्पादनमा भन्दा बचत तथा ऋण सहकारी बनाएर नाफामात्रै कमाउने प्रवृत्ति औंल्याउँदै उनले यस्तो विचार व्यक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङ बुधबार तनहुँको बन्दीपुर गाउँपालिकाले तयार पारेको एकीकृत विकास गुरुयोजना पुस्तकको विमोचन गर्दै थिए ।

Advertisement

‘अहिलेका सहकारी भनेका हिजोका सामन्त हुन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘जो उत्पादनमा भाग लिएको छ, गरिबी निवारणमा लाग्या छ, आफ्ना सेयर सदस्यलाई समान ढंगले व्यवहार गरेको छ, त्योमात्रै सच्चा सकारी हो । नत्र भने हिजोको जिम्मुवाल बाले लिनुहुन्थ्यो ब्याज, सहकारीहरुले वित्तीय संस्थाले झै ऋण दिएर १७/१८ प्रतिशत ब्याज लिइरहेका छन् ।’ त्यत्रो धेरै ब्याज लिने सहकारी हुन नसक्ने उनले बताए ।

‘छोराको बिहा तामझामका साथ गर्नुप-यो सहकारीबाट ऋण लियो, घर, घडेरी जोड्नुप¥यो, सहकारीबाट ऋण लियो,’ मुख्यमन्त्री गुरुङले भने, ‘अनुत्पादक क्षेत्रमा यति लगानी भयो कि नाफा ग-यो अनि बाँड्यो, अनि भ्रमण गयो, कहिले दार्जिलिङ जाने, कहिले सिक्किम जाने ।’

Advertisement

सहकारीहरुले लगानी धेरै गरे पनि सरकारले नियमनसमेत गर्न नसकेको उनले स्वीकारे । बन्दीपुरको गुरुयोजनामा सहकारीका माध्यमबाट समेत समृद्धिको दिशामा अघि बढ्ने प्रसंग आउँदा मुख्यमन्त्री गुरुङले सहकारीको शैली र ढाँचा परिवर्तनको सुझाव दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले विकास भनेको भौतिक विकासमात्रै नभएको विचार पनि व्यक्त गरे । शिक्षा र स्वास्थ्यको विकास अनि गरिबी निवारणको दिशामा अघि बढ्नुपर्ने खाँचो उनले औंल्याए ।

बन्दीपुरको एकीकृत विकास गुरुयोजना निर्माण समिति संयोजक हेमराज लामिछाने क्षितिजले बन्दीपुरमा दृश्यावलोकनका लागि सिसाको पुल निर्माण गर्ने सुनाए । त्यसका लागि प्रदेश सरकारको सहयोगको अपेक्षा पनि उनले सुनाए । तर मुख्यमन्त्री गुरुङले दृश्यावलोकनका लागि भ्युटावर निर्माण गलत प्रवृत्ति भएको टिप्पणी गरे ।

‘त्यो भ्युटावरबाट के हेर्ने ? गरिबी हेर्ने ?’ मुख्यमन्त्रीले भने, ‘सिसाको पुल बनाउँदा त्यसले पर्यटनमा कति योगदान पु¥याउँछ ? डिपिआर खै ?’ पालिकाहरुले गुरुयोजना बनाउँदा प्रदेश र संघको योजनासँग तादाम्य मिलाउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रदेशभरका अस्पतालहरुको स्तरोन्नति र सुदृढीकरणमा आफूहरु लागिरहेको सुनाउँदै उनले तर आवश्यकताभन्दा धेरै शड्ढयाका अस्पताल बनाउने पक्षमा नरहेको पनि जानकारी गराए । ‘अस्पताल बनाउने तर आवश्यकता अनुसारको र त्यसलाई चाहिने जनशक्ति र उपकरण पनि चाहिन्छ,’ उनले भने ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सामाजिक न्यायबिनाको समृद्धि समृद्धि हुन नसक्ने विचार व्यक्त गरे । उनले पनि उत्पादनमूलक सहकारी खोलिनुपर्नेमा जोड दिए । ‘उत्पादन सहकारीमा जोड दिऔं, उत्पादन बढ्दै जाँदा बचत तथा ऋण सहकारी सहकारी आफैं खुल्दै जान्छन्,’ उनले भने ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्माले उत्पादनमा जाने भन्ने तर त्यसको तयारी नगर्ने भइरहेको टिप्पणी गरे । ज्ञान र सीपलाई उद्यममा रुपान्तरण गरिनुपर्ने उनको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रामबहादुर गुरुङ, सिडिओ सागर आचार्य, गापा उपाध्यक्ष करुण गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा बन्दीपुरका प्रतिभाहरु चिजकुमार श्रेष्ठ, डा मदन पिया र पत्रकारहरु लगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया