स्याङ्जामा फोहोर जलाउँदा लाग्यो डढेलो

समाधान संवाददाता २०७७ चैत १३ गते २१:४३

समाधान संवाददाता, पोखरा

स्याङ्जामा फोहोर जलाउँदा पाखो खरबारी हुँदै लागेको डढेलोले घरगोठ जलेको छ ।

गल्याङ नगरपालिका ७ दारेगौँडास्थित लसुने खोलाको पाखो जंगलबाट लागेको डढेलो शुक्रबार दिउँसो बस्तीमा पसेको हो । आगलागीमा परेर स्थानीय भागीराथी पाण्डे र अर्का स्थानीय चन्द्रप्रसाद पाण्डेको सहित १७ वटा बाख्रा मरेका छन् ।

Advertisement

वडाध्यक्ष रामबहादुर गुरुङका अनुसार पाखो खरबारी हुँदै आगो स्थानीय भागीराथी पाण्डेको घरसम्म पुगेको थियो । फोहोर जलाउन आगो लगाइएको ठाउँबाट पाण्डेको घर ४५ मिनेट उकालो दुरीमा पर्छ ।

‘तल खोलातिर फोहोर जलाउन लगाएका रहेछन् । त्यहीबेला बतासले त्यो आगो खरबारी, ग्रामीण मोटर बाटो कटेर घरसम्म पुगेछ । धेरै माथि पुगेछ,’ वडाध्यक्ष गुरुङले भने ।

Advertisement

पाण्डेको खरले छाएको, माटो र ढुंगाले बनेको घर, घर छेउकै गोठमा क्षति पुगेको छ । डढेलोले भागीराथीको घरमा रहेको ४० हजार रुपैयाँ, नागरिकता, जग्गाको लालपुर्जा, मोबाइल नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । स्थानीय र प्रहरीले ३ घण्टा लगाएर डढेलो नियन्त्रणमा लिएका थिए ।

चन्द्रप्रसादको पनि खरले छाएको घर र गोठमा क्षति पुगेको छ । पीडित भागीराथीलाई छिमेकीको घरमा व्यवस्थापन गरिएको र चामल, दालसहित अत्यावश्यक खाद्यान्न राहत दिइएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

‘त्यहाँ ब्राह्मण र मगरको गरेर १० वटा घर छन् । एउटा घरको मान्छे मधेशतिर रहेछन् । तिनैकोमा लगेर पीडितलाई राखेका छौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया