पोखराबाट हुनुपर्ने ६ उडान तुवाँलोले रद्द

समाधान संवाददाता २०७७ चैत १३ गते २१:४७

समाधान संवाददाता, पोखरा

सधैं सफा र स्वच्छ भइरहने पोखराको आकाश शुक्रबार एक्कासि धुम्मियो । काठमाडौंमा वातावरण मैलिरहेको खबर छाइरहँदा पोखराको आकाश पनि धुमिल थियो । शुक्रबार मध्याह्नसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएको थियो । त्यस्तै अवस्था पोखराको पनि भयो ।

एक्कासि वायुमण्डलमा बाक्लो तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य उडानहरु प्रभावित भए । पोखरामा पनि शुक्रबार ६ वटा उडान रद्द भएको जानकारी पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले दिए ।

Advertisement

‘सामान्यतया पोखराबाट टेकअफ र ल्यान्डिङ गरी ५० उडान हुन्थे,’ उनले भने, ‘आज बुद्धका ३ र यतीका ३ उडान हुन पाएनन् ।’ गौतमले पोखराको आकाश तुवाँलोमय भएपछि पोखरा विमानस्थल १ घन्टासम्म रोक्नुपरेको थियो ।

गौतमका अनुसार पोखराबाट जहाज उडानका लागि सामान्यतया ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । शुक्रबार भने त्योभन्दा कम भएको थियो । अरु बेलाचाहिँ पोखरामा १० किलोमिटरभन्दा बढी भिजिबिलिटी हुन्छ ।

Advertisement

पोखरा र काठमाडौंको आकाशमा धुँवा र धुलोको मात्रा अत्यधिक हुनु र पानी नपर्नुले भिजिबिलिटी कम भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जनाए ।

अहिले प्रिमनसुनको बेला भएको तर पानी नपरेका कारण पनि पोखराको आकाश धमिलिएको उनले सुनाए ।

संघीय मन्त्रालय अन्तर्गत वातावरण विभागका प्रवक्ता इन्द्रविक्रम जोशीले पोखराको आकाश अरु बेलाको भन्दा प्रदूषित भएको जनाए ।

उनका अनुसार सफा मौसमका बेला यहाँको वातावरणमा वायु प्रदूषण सयभन्दा कम हुन्थ्यो । तर शुक्रबार भने २२२ थियो । पोखरामा वायु प्रदूषणको मापन गण्डकी बोर्डिङ स्कुल, पोखरा विश्वविद्यालय र अर्काे एक ठाउँबाट गरिन्छ ।

तपाईको प्रतिक्रिया