भद्रकाली मन्दिर फेदीमा फुटट्र्याक

समाधान संवाददाता २०७७ चैत १४ गते १९:३९


समाधान संवाददाता
पोखरा, १४ चैत

Advertisement

भद्रकाली मन्दिरको फेदीमा पदमार्ग (फुटट्र्याक) निर्माण सुरु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमार्ग शनिबार शिलान्यास गरे । मन्दिर रहेको डाँडाको फेदी वरिपरि पैदल यात्रा गर्ने बाटो निर्माण थालनी मुख्यमन्त्रीले गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले भद्रकाली मन्दिरको प्रवर्द्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । फेरि पनि अरु बजेट दिएर भद्रकालीका लागि सहयोग गर्ने वचन उनले दिए । ‘सरकारले भूकम्पमा भत्किएका र चर्किएका मठ, मन्दिर लगायत धार्मिक र ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिरहेको छ, धेरै सम्पदा बनिसकेका छन्, भद्रकाली छुट्न हुँदैनथ्यो,’ उनले भने ।

फुटट्र्याक निर्माणमा सघाउन मुख्यमन्त्रीले स्थानीयलाई पनि आग्रह गरे । ‘धर्मको काममा दुईचार आना सहयोग गर्न पछि नपर्नुहोला,’ उनले स्थानीयलाई भने । मुख्यमन्त्री गुरुङले प्रदेश सरकार सबैका घर घरमा धारा र बिजुली पुर्‍याउने अभियानमा लागिरहेको सुनाए । ‘जनताको जुन समस्या केन्द्र सरकारले देखेन र सुनेन, तिनलाई सुन्ने र समस्या सुल्झाउने भनेरै प्रदेश सरकार आएको हो,’ उनले भने, ‘आफ्नै ठाउँका जनताको सेवा गर्छु भनेरै म केन्द्रको मन्त्री बन्ने सम्भावना हुँदाहुँदै यहाँ मुख्यमन्त्री बन्न आएको हुँ ।’

विकास, निर्माण गर्दा आफूलाई भोट दिएका ठाउँमा नभई जनताको आवश्यकता कहाँ छ भनेर हेर्ने गरेको मुख्यमन्त्री गुरुङले सुनाए । उनले मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्रमा सडक पु¥याउन कठिन भइरहेको सुनाउँदै सबै पालिका केन्द्रलाई ८ मिटर चौडा सडकले पोखरासँग जोड्ने योजनामा काम गरिरहेको जानकारी पनि दिए ।

Advertisement


फुटट्र्याक निर्माण गर्न गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट दिएको गणेश तथा भद्रकाली मन्दिर सेवा समिति अध्यक्ष टीकाबहादुर कार्कीले जानकारी दिए । ९ सय ५० मिटर फुटट्र्याक निर्माण गरिने उनले सुनाए । उनकै भनाइमा अरु थप बजेटको समेत व्यवस्था गरी फुटट्र्याक निर्माण पूरा गर्ने योजना छ ।

‘फुटट्र्याकको ठाउँ ठाउँमा गणेश र भद्रकालीका ससाना मन्दिर पनि बनाउने योजना छ,’ कार्कीले भने, ‘वृद्धवृद्धाहरु जो डाँडामा चढ्न सक्नुहुन्न, उहाँहरुले फुटट्र्याकमै पनि देवी, देउताको दर्शन गर्न पाउनुहुनेछ ।’ मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले फुटट्र्याकका लागि जनश्रमदान पनि जुटाइएको जानकारी दिए । उनले धेरै मुद्दा मामिला गरी ४० रोपनी जमिन भद्रकाली गुठीका नाममा ल्याउन सफल भएको पनि सुनाए । अझै केही केही मुद्दा बाँकी नै रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया