मुस्ताङमा ‘तोरन्ल’ को रौनक

समाधान संवाददाता २०७७ चैत १५ गते ०:३२

एसके थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङमा सदियौंदेखि बसोबास गर्ने थकाली समुदायहरुको महान सांस्कृतिक पर्व ‘तोरन्ल’ को रौनक जोमसोममा सुरु भएको छ ।

हिउँदयामको अन्त्य तथा वसन्त ऋतुको आगमनसँगै मनाइने महान सांस्कृतिक पर्व तोरन्ल मुस्ताङको थाकसय क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायले विशेष प्रकारले हर्षाेल्लासका साथ मनाउँछन् ।

Advertisement

उधौली समाप्त भई उधौली प्रारम्भ भएको अवसरमा गुरुङ, शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्व जस्तै परापूर्वकालदेखि यसप्रकारको तोरन्ल पर्व थकाली समुदायले मनाउने चलन छ । बर्सेनि फागुपूर्णिमाको सेरोफेरोमा मनाइने तोरन्ल पर्व थकाली समुदायहरुको महान सांस्कृतिक पर्व पनि हो । मुस्ताङमा बसोबास गरी देश/विदेशमा छरिएर रहेको सम्पूर्ण थकाली समुदायहरुले तोरन्ल पर्व मनाउँदै आइरहेका छन् ।

थकाली समुदायहरुको महान पर्व तोरन्लको अवसरमा शुक्रबार गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले शुभकामनन व्यक्त गर्दै तोरन्ल पर्व भव्य र सभ्य रुपमा मनाउन आग्रह गरे ।

Advertisement

सांसद गौचनले तोरन्ल पर्व हिमाली जिल्ला मुस्ताङको जोमसोममा औपचारिक रुपमा मनाउने गइरहेको र पर्वले धार्मिक तथा संस्कृति संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले थकालीहरुको महान पर्व पितृ उद्धारको कामना गर्दै आपसमा आत्मीयता र भाइचारको सामाजिक सद्भाव कायम गर्ने प्रतिकको रुपमा तोरन्लको विशेषता रहेको बताए ।

थकालीले फागु पूर्णिमा अगाडि र पछाडि गरी ३ दिनसम्म पितृ उद्दारको कामना गर्दै विभिन्न कार्यक्रम गरी तोरन्ल पर्व मनाउँछन् । थकालीहरुको उद्गम स्थल थाकखोलाका थकालीहरु बर्सेनि हिउँदयामको मौसममा जाडो छल्न घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने र गर्मी सुरु भएपछि थाकथलो फर्किने गर्छन् ।

यसरी बेसीबाट उकालो उक्लिएका थकाली समुदायले वसन्त ऋतुको आगमनसँगै पूख्यौली पर्व तोरन्ल मनाउने चलन रहेको थकाली सेवा समिति नेपालका क्षेत्रीय समितिका अध्यक्ष श्यामप्रसाद गौचनले जानकारी दिए ।

अध्यक्ष गौचनले तोरन्लको अवसरमा पितृ उद्दारका लागि पूजाआजा, देवी देवताको पूजा गर्ने र पुरुषहरु तारो हान्ने खेल र महिलाहरु नाका भोटे (कौडा) खेल्ने चलन रहेको अध्यक्ष गौचनले बताए ।

थकाली महान पर्व तोरन्ल पर्वको एक महिना अगावैदेखि महिलाहरुले आफ्नो घर आगन चिटिक्क सिंगार्ने गर्छन । घरभित्रका भाडा वर्तनहरु पखालेर सुकिलो पार्छन् ।

तोरन्लको अवसरमा आफ्ना छोरी–ज्वाइँ, भान्जा–भान्जी आदिलाई माइती बोलाएर स्वादिष्ट भोजन बनाएर खुवाउने चलन छ । मुस्ताङ छोडेर काठमान्डौं, पोखरा ,बुटवल र भैरहवा लगायत ठाउँमा बसाइसराइ गरेका थकाली समुदायले पनि तोरन्ल पर्व धुमधामले मनाउने गरेको पाईएको छ ।

वर्षभरी दुःख र पीडालाई थाती राखेर हिउदयामलाई बिदाई गरी नया वर्षको सेरोफेरोमा थकाली तोरन्ल पर्व मनाउने चलन रहेको स्थानीय मीमकुमारी शेरचनले जानकारी दिइन् । तोरन्ल पर्वमा ३ दिनसम्म मध्यरातमा उठेर पितृलाई खानेकुरा र प्रसाद चढाउने गरेको बताइन् ।

उनले दिवंगत पितृलाई पूजाआजा गरी खुसी पार्नसके मात्र भावी सन्ततिलाई सुखशान्ति प्राप्त हुने धार्मिक मान्यताको रुपमा तोरन्ल पर्वको विशेषता रहेको उल्लेख गरिन् ।

थकाली महान पर्व तोरन्लमा पुरुषहरुले दौरा सुरुवाल र महिलाहरुले न्होकोन चोलो लगायतका मौलिक भेषभुषा पहिरिएर आपसमा रमाईलो गर्छन ।

तोरन्लको अन्तिम दिनलाई थकाली भाषामा (मेयर) भन्ने गरिन्छ । तोरन्लको अन्तिम दिन मध्यरातमा उठेर खोलामा गई स्नान गर्ने र घरमा आएर चोखोपानी र खानेकुरा चढाइन्छ ।

थकाली समुदाय जोमसोमकी स्थानीय मोहनकुमारी शेरचनले मुस्ताङको जोमसोममा थकाली समुदायको महान पर्व तोरन्ल औपचारिक रुपमा सुरु भएको बताइन् । उनले पर्वमा सबै थकाली समुदायका व्यक्तीहरु एकै ठाउमा भेला भई आपसमा मिठो खाने, राम्रो लगाउने र आपसमा रमाइलो गर्ने चलन रहेको उल्लेख गरिन् ।

थकालीहरुको महान पर्व तोरन्लको मुख्य विशेषता हो तारो हान्ने खेललाई लिइन्छ । थकाली समुदायले तोरन्ल सुरुआत गर्नुअघि तारो हान्ने धसा (काठको मुड्को)लाई धार्मिक परम्परा अनुसार पुजापाठ गरेपछि मात्र तारो हान्ने खेल सुरुआत गरिन्छ ।

शुक्रबार गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले थकाली ४ चनहरुको कुलदेवता नरिझेवको तस्विरमा पूजाआजा र तारो हान्ने खेलको औपचारिक रुपमा उदघाटन गरे ।

त्यस अवसरमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवाली, घरपझोङ गापाका अध्यक्ष आशबहादुर थकाली, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल र घरपझोङ गापाकी सदस्य भुवन शेरचन लगायतले थकालीहरुको महान पर्व तोरन्लको शुभकामना मन्तव्य व्यक्त गरे । त्यस अवसरमा थकाली नृत्य र गीतका साथ थकाली मौलिक संस्कृति प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया