तुँवालोले हिजो सबै उडान रद्द, आज सिमराको पहिलो उडान अन्योल

समाधान संवाददाता २०७७ चैत १५ गते ०:३७

समाधान संवाददाता, पोखरा

धुवाँ र धुलोले भिजिबिलिटी कम भएपछि पोखराबाट शनिबार हुनुपर्ने सबै उडान रद्द भएका छन् । काठमाडौं, जोमसोम र भैरहवाका लागि तय भएका २७ उडान रद्द भएको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १६, जोमसोमका १० र भैरहवाको १ उडान रद्द भएका हुन् । बुद्धका १०, यतिका ७, तारा र समिटका ५÷५ उडान रद्द भएको प्रमुख गौतमले जानकारी दिए ।

Advertisement

१० मध्ये बुद्धको ९ वटा काठमाडौं र एउटा भैरहवा उडान हुन सकेन । त्यस्तै काठमाडौंका लागि तय यतिका ७, तारा र समिटका ५/५ जोमसोम उडान शनिबार भएनन् ।

‘मौसम खराब भएपछि सबै उडान रद्द गर्नुप¥यो । जम्मा २ किलोमिटरमात्रै भिजिबिलिटी थियो,’ प्रमुख गौतमले भने । उडान भर्न भिजिबिलिटी सामान्यतयाः ५ किलोमिटर हुनुपर्छ । अरु बेलाचाहिँ पोखरामा १० किलोमिटरभन्दा बढी भिजिबिलिटी हुन्छ ।

Advertisement

भिजिबिलिटी कम हुँदा शुक्रबार ६ उडान रद्द भएको थियो । आइतबारदेखि पोखरा–सिमरा सिधा उडान गर्ने तयारी छ । तर, पछिल्लो २ दिन मौसम बिग्रिएकाले आइतबारको उडानबारे केही भन्न सक्ने अवस्था नरहेको प्रमुख गौतमले बताए । सो उडानमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल लगायत सिमरा जाने तयारी छ ।

पोखरा र काठमाडौंको आकाशमा धुँवा र धुलोको मात्रा अत्यधिक हुनु र पानी नपर्नुले भिजिबिलिटी कम भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जनाए । अहिले प्रिमनसुनको बेला भएको तर पानी नपरेका कारण पनि पोखराको आकाश धमिलिएको उनले सुनाए ।

यता, शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्. । सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको उनले बताइन् ।

देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । देशका पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया