पुनरावलोकन निवेदनपछि प्रचण्डले भने – अदालतले निर्णय सच्याउने आश छ

समाधान संवाददाता २०७७ चैत १७ गते १३:१०

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदकको माग बाहिर गएर गरेको निर्णय अदालतबाट सच्चिने विश्वास व्यक्त गरेका छन्।

नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि मंगलबार निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अदालतबाट भएको निर्णय सच्चिने विश्वास व्यक्त गरेका हुन्।

Advertisement

‘सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो।  पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन। यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्,’ प्रचण्डले भने,‘मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’

आफूले नेतृत्व गरेको नेकपा आधिकारिक हुनुपर्ने मागसहित ऋषि कट्टेलले दिएको निवेदन उपर निर्णय गर्दै सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।

Advertisement

अदालतको यस्तो निर्णयसँगै एकीकृत बनेको दल नेकपाका दुई घटक एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किएका थिए।

दाहालले भने, ‘नामसम्बन्धी मुद्दा परेको थियो। रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहना राखेका थिएनन्। नाम मात्र सच्चियोस् भन्ने माग थियो। रिट निवेदकको मागभन्दा बाहिर गएर गरेको निर्णय अदालतले सच्याउनेछ।’

उनले अदालतबाट ढिला नगरी पुनरवलोकन भएर यथार्थ निर्णय बाहिर आउने पनि बताए। उनले विगतमा पनि अदालतबाट भएका कतिपय फैसलामा पुनरवलोकन हुँदै आएको बताए।

दाहालले भने, ‘२३ गतेको पार्टीको नामसम्बन्धी फैसला अस्वाभाविक, राजनीतिक प्रकृतिको छ भनेर हामीले भन्दै आएका छौं।’

पुनरवलोकनका लागि निवेदन दिन अध्यक्ष दाहाल प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठलगायत सर्वोच्च पुगेका थिए।

तपाईको प्रतिक्रिया