गण्डकीका १० जिल्लामा नेपाल समूहको समानान्तर कमिटी

समाधान संवाददाता २०७७ चैत १९ गते २२:०४

समाधान संवाददाता, पोखरा

माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गण्डकी प्रदेशमा एमालेको समानान्तर कमिटी बनाएको छ ।

गएको फागुन २९ गते गण्डकी इन्चार्जमा नेपाली समूहले नेता सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको थियो । नेता नेपालले कास्की कमिटीको घोषणा गरे भने पाण्डेले प्रदेश सचिवालय र जिल्लाका जिम्मेवारी बाँडफाँड गरेका हुन् ।

Advertisement

प्रदेश कार्यालय व्यवस्थापनको जिम्मा नेता तुलबहादुर गुरुङ र हिरा केसीलाई दिइएको छ । कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलापछिको भेलाले सबै जिल्लामा अध्यक्ष र सचिव तोकेको हो ।

कुन जिल्लामा को–को ?

Advertisement

कास्कीमा धनराज आचार्य अध्यक्ष र होम नेपाली सचिव तोकिएका छन् । कास्की इन्चार्जको जिम्मेवारी नेता सुरेन्द्र पाण्डेले नै लिएका छन् भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी ओलीलाई दिइएको छ ।

स्याङ्जामा अध्यक्ष रामचन्द्र भट्टराई र सचिव भुपराज अधिकारीलाई तोकिएको छ भने ईन्चार्जको चुणामणि जंगलीलाई दिइएको छ । म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदीलाई तोकिएको छ भने सचिवको टुंगो जिल्ला भेलाले लगाउने भएको छ । म्याग्दीमा इन्चार्जको जिम्मेवारी श्रीमाया थकालीलाई दिइएको छ ।

बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिवको जिम्मेवारी दिइएको छ भने केन्द्रीय प्रतिनिधि पनि सापकोटाले नै बनाइएको छ । सापकोटा गण्डकी प्रदेश सभाका सांसद पनि हुन् । एमाले ब्युँतिएको भोलिपल्ट सापकोटाकै नेतृत्वमा बालुङमा एमालेको कार्यालयसमेत स्थापना गरिएको थियो ।

पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिवको जिम्मेवारी दिइएको छ भने मोति पौडेललाई इन्चार्ज तोकिएको छ । तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव बनेका छन् भने प्रतापलाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

गोरखामा यादव बस्नेत अध्यक्ष, सानोमाया बस्नेत सचिव र इन्चार्जको जिम्मेवारी चुणामणि जंगलीलाई दिइएको छ । नवलपुरमा अध्यक्ष धनञ्जय शर्मा र कृष्ण पौडेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

सचिवको चयन जिल्ला भेलाले गर्ने छ । लमजुङमा रामबाबु अधिकारी अध्यक्ष, हिरा विक सचिव र तनहुँका नेता प्रतापलाल श्रेष्ठले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

मनाङमा प्रदेश सचिवालय सदस्य चित्र थापाले नै भेला बोलाउने, संगठन बनाउने जिम्मेवारी दिइएको छ । मुस्ताङमा अझै तय भइसकेको छैन । बिहीबारको भेलाले जनसंगठन इन्चार्ज नवलपुरका रवीन्द्र अधिकारी र सोभियत ढकाललाई जिम्मेवारी दिएको छ ।

भेलाले चैत मसान्तसम्म सबै जिल्ला तथा प्रदेश कमिटीको घोषणा गरिसक्ने निर्णय गरेको कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए । त्यस्तै रवीन्द्र अधिकारी र सोभियत ढकाललाई जनवर्गीय संगठन बनाउने जिम्मा दिइएको सचिवालय सदस्य एवं गोरखा जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया