बागलुङ घटना अपडेटः हत्यामा संलग्न ८ जना सार्वजनिक

समाधान संवाददाता २०७७ चैत २० गते १९:१०

समाधान संवाददाता, पोखरा

बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा भएको हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले गत १५ चैतमा भएको घटनामा संलग्न ८ युवालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, ३३ वर्षीय तीर्थ लाल बुढा, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढालबहादुर बुढालाई सार्वजनिक गरेको हो । उनीहरू सबै बडिगाड गाउँपालिका १० दर्लिङका हुन् ।

Advertisement

१५ चैतमा होली खेल्ने क्रममा बडिगाड गाउँपालिका १० बल्देधुरीमा झडप भएको थियो । सोही क्रममा दर्लिङका युवाले दुई जनालाई बल्देधुरीको भीरबाट चार सय मिटर तल फालेका थिए ।

घटनामा निसीखोला गाउँपालिका ७ राजकुटका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाईको ज्यान गएको थियो । प्रकाश नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् भने दीपक कांग्रेसका सक्रिय कार्यकर्ता हुन् ।

Advertisement

हत्यामा संलग्न भएको खुलेका आठमध्ये दुई जना गुल्मी, एक जना रुपन्देही र बाँकी पाँच जना बागलुङबाटै पक्राउ परेको बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

एसपी मगरका अनुसार मिलन बुढा र रेशम बुढालाई गुल्मी, कुमार छन्त्याललाई रुपन्देही र बाँकी सबैलाई बागलुङबाट पक्राउ गरिएको हो । अरू युवा पनि संलग्न रहेको अनुसन्धानमा खुलेको र उनीहरूको खोजी भइरहेको एसपी मगरले बताए ।

दर्लिङका स्थानीय भने राजकुटका केही युवाले जबरजस्ती रुपमा युवतीमाथि रङ दल्दा झगडा भएको बताउँछन् । होलीको यो हिंसात्मक घटनाबारे दुवै समूहले एक अर्कालाई दोषारोपण गरिरहेका छन् । एसपी मगरले युवतीलाई रङ दलेको विषयमा झडप सुरू भएको खुलेको समाधानलाई बताए ।

पक्राउ परेकालाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया