हामी सरकारमा जाँदैनौं, पृथ्वीसुब्बालाई दिएको समर्थन कायमै छ–राजमो दल नेता थापा

समाधान संवाददाता २०७७ चैत ३० गते १८:४६

समाधान संवाददाता, पोखरा ।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सभाका संसदीय दलका नेता कृष्ण थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।

बजारमा राजमोको विषयलाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेलामा समाधानसँग फोनमा संवाद गर्दै सांसद थापाले राजमो कसैसँग गठबन्धन गरेर सत्तामा नजाने पनि प्रष्ट पारेका छन् ।

Advertisement

‘हामी स्थायित्वको पक्षमा छौं, भैरहेको सरकार ढालेर स्थायित्व आउदैन’ थापाले भनेका छन्, ‘हामीले पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन कायमै छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेकाले राजमोले समर्थन नगर्ने कुरा आईरहेको छ नी भन्ने समाधानको जिज्ञासामा उनले कांग्रेसको इतिहास फर्केर हेर्न आग्रह गरे ।

Advertisement

‘हिजो कसले गरेको छैन प्रतिगमन ?’ प्रजातन्त्र दरबारमा बुझाउनेसम्मको काम कांग्रेसबाट भएको भन्दै थापाले अहिले अग्रमनको कुरा गर्नुको अर्थ नरहने बताए ।

तपाईलाई मुख्यमन्त्री बनाएरै भएपनि गुरुङ सरकार ढाल्ने योजना छ नी भन्ने प्रश्नमा उनले सरकारमा नै नजाने पार्टीको नीति भएकाले जे को अफर गरे पनि आफूहरु नलोभिने प्रतिक्रिया दिए ।

एक अर्को प्रसंगमा थापाले कांग्रेस र माओवादी मै मुख्यमन्त्रीको आकांक्षी धेरै भएको बताए । ‘फोटाे देखिरहनु भएकोछ, को को मुख्यमन्त्री बन्ने दौडमा सामिल हुनुहन्छ भनेर ।’ उनले भने, ‘उनीहरुबीच नै एकता छैन, अरुको के कुरा गर्नु ?’

तपाईको प्रतिक्रिया