कास्की प्रहरीलाई अलमलाउने गोलीकाण्ड

समाधान संवाददाता २०७७ चैत ३० गते २१:१७

अनुप पौडेल, पोखरा

गत २३ माघमा पोखरा १७ महतगौंडामा गोली चलेर एक युवक घाइते भएको खबर फैलियो । तर, कास्की प्रहरीले गोली नभई ती युवकमाथि धारिलो हतियार प्रहार भएको बतायो ।

प्रहरीले गोली नचलेको बताइरहँदा घाइते भएका मनोजले अस्पतालको बेडबाट बारम्बार दोर्‍याइरहे, ‘मलाई गोली हानिएको हो ।’ घटनाको ६५ दिनपछि आइतबार प्रहरीले पोखरामा गोली चलेको भन्दै दोषी सार्वजनिक गरेको छ ।

Advertisement

प्रहरीले पर्वतका २७ वर्षीय मनोज विकलाई गोली हानेर भागेको आरोपमा बारा पिपरबृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई आइतबार पक्राउ गर्‍यो । पाण्डेलाई पोखरा १ सिम्पानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी त्यहाँ निर्माणाधीन घरमा मेटलको काम गर्दै थिए ।

पर्वतको मोदी गाउँपालिका( ८ चित्रेका मनोज विकको दुई महिना पहिलेको घाउ अझै दुखिरहन्छ । उनलाई हिँड्डुल गर्न समस्या छ । अरुले काँध हाल्दिएमात्रै यताउता गर्न सक्छन् । पोखरा २४ पामे बस्ने उनी परिवारकै सहायतामा आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगे ।

Advertisement

पक्राउ परेका पाण्डेको वालेटबाट तीन राउन्ड गोली बरामद भएको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए । ‘पेस्तोल भेटिएको छैन । गोली बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमै छौँ,’ उनले भने ।

मनोजमाथि गोली किन हानियो भन्ने नै रहस्यमय छ । पक्राउ परेका राजकिशोरको साथबाट बरामद भएको गोली ७.६५ एमएमको हो । एसपी श्रेष्ठका अनुसार गोली हान्नुको कारण खुलिसकेको छैन ।

‘यस सन्दर्भमा खोजी गर्दै बारा पुग्यौँ, पर्सा पुग्यौँ । पेस्तोल कहाँबाट ल्याएको हो रु किन ल्याएको हो रु भन्नेमा विस्तृत अनुसन्धान हुन्छ,’ एसपी श्रेष्ठले भने ।

घाइते मनोजले प्रहरीलाई काम दिने भन्दै लगेर आफूमाथि गोली प्रहार भएको बयान दिएका छन् । प्रहरीलाई उनले गोली हान्नेको हुलिया बताएका थिए । मोबाइल नम्बर पनि दिएका थिए । त्यसैको आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डे पोखरामा कहाँ बस्छन् भन्ने खुलिसकेको छैन । पाण्डे घटनापछि हालै पोखरा आएको खुलेको एसपी श्रेष्ठले बताए । ‘कहाँ बस्छ, के खान्छ, क–कसको सम्पर्कमा आउँछ भन्ने अनुसन्धान गर्दै जाँदा पक्राउ गर्‍यौँ । काम गरिरहेकै अवस्थामा पक्राउ गरिएको हो । वीरगन्जबाट भर्खरै पोखरा आएकोसम्म खुलेको छ,’ उनले भने ।

पहिला गोली होइन, अहिले हो ?

२३ माघ बेलुका ७ बजे घाइते विक आफैँ मोटरसाइकल लिएर प्रहरीकहाँ पुगे । उनको दाहिने कोखाबाट रगत बगेको थियो । त्यहाँबाट तत्काल उनलाई गण्डकी मेडिकल कलेज पुर्‍याइयो । घाइतेले आफूमाथि गोली चलेको दोहोर्‍याइरहँदा प्रहरीले खासै वास्ता गरेन ।

डाक्टरले धारिलो हतियारको घाउ भनिदिएपछि गोली नचलेको सञ्चारकर्मीहरूलाई बताइयो । घाइते र डाक्टरको भनाइ बाझिँदा प्रहरी नै अलमलमा पर्‍यो । उपचारकै क्रममा घाउ वारपार भएको देखिएपछि बल्ल प्रहरीले अनुसन्धानमा चासो देखाएको थियो ।

घाइते मनोज विक

‘सुरुमा घाउ कस्तो छ भनेर आँखाले हेर्ने हो, पछाडिको भागमा चोट देख्यौँ । पछि डाक्टरले स्क्यान गर्दा, अप्रेसन गर्दा घाउ वारपार भएको देखियो,’ एसपी श्रेष्ठले भने । त्यसपछि घटनास्थल पुग्दा गोली भेटिएकाले गोली नै चलेको पुष्टि भएको उनले सुनाए ।

घटना कसरी भयो ? (घाइतेका अनुसार)

फेवाताल किनारको भकुण्डेमा एकदिन चिया पसलमा ऊसँग चिनाजानी भयो । उसले ठेकेदार हुँ भन्यो । म वायरिङको काम गर्छु, तपाईंसँग टेक्निसियन छ कि छैन भनेँ । उसले दोबिल्लामा १० कोठे घर छ भन्यो । त्यहाँबाट निस्केर म आफ्नै काममा गएँ ।

उसले दिउँसो फोन गर्‍यो । बिजुलीको पोइन्ट कहाँ–कहाँ राख्ने भन्ने साहुले भन्छ । घरको ठेक्का सबै मैले लिएको हुँ, तिमीले काम गर भनेर मलाई लग्यो । साँझ परिसकेको थियो ।

जाने भनेको ठाउँ दोबिल्लभन्दा पर सीतापाइलामा बाइक रोकेर घरको साहुजीलाई फोन गरौँ भन्यो । साहुलाई फोन गरेर जाऊँ भनेपछि कुरा ठीक हो भनेर हुन्छ भनेँ । बाइक रोकेर चौतारीमा गएर बसियो । १ मिनेटको अवधिमा कता–कताबाट पेस्तोल निकालेर बाइकको चाबी र हेल्मेट राख् भन्यो ।

उसले घोप्टो पर्न भन्यो । मैले किन भन्ने बित्तिकै उसले पेस्तोल ताक्यो । पेस्तोल ताक्नेबित्तिकै म जुरुक्क उठेँ । त्यसपछि उसले सुट गर्‍यो । अर्कोपटक पनि फायर गर्छ भनेर म भाग्न खोजेँ । बाइकमा झुन्डिराथ्यो, त्यो छोडिएपछि म भागेँ । बाटो एकदम अप्ठेरो थियो । समय खेर फाल्नु हुँदैन भनेर गोली लागेको ठाउँमा हात राखेर गएँ ।

रगत धेरै बगेको थियो । बाटोमा ट्राफिक देखेको थिएँ तर त्यहाँ भनेर बस्दा समय खेर जान्छ, ज्यानै जान सक्छ भनेर बैदाम प्रहरी (घटनास्थलबाट करिब पाँच किलोमिटर उत्तर पश्चिम) पुगेँ ।

१० मिनेटको अवधिमा रन्थनिँदै पुगेको थिएँ । अहिले प्रहरीले अपराधीलाई पक्रियो । मेरो गल्ती केही छैन । अझै एउटा अप्रेसन गर्न बाँकी छ । मेरो सबै क्षतिपूर्ति उसले व्यहोर्नुपर्छ ।

तपाईको प्रतिक्रिया