सीता आविको ६५ औं वार्षिकोत्सव

समाधान संवाददाता २०७७ चैत ३१ गते १६:४७

समाधान संवाददाता, पोखरा ।

पोखरा २० आँटिघरमा रहेको सीता आधारभूत विद्यालयको ६५ आंै वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । त्यस अवसरमा गोपालधन गुरुङले ग्रामीण भेगहरुमा सामुदायिक विद्यालयहरु विस्थापन भइरहदा आँटिघरको पुरानो स्कुल ६५ औं वर्षसम्म आइपुग्नु आफैमा गर्वको कुरा भएको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य भीमप्रसाद बास्तोलाले पछिल्लो समय छोराछोरीहरुलाई सहरको महँगो निजी विद्यालयमा पढाउने काम तीब्र क्रममा बढिरहेकाले यसलाई रोकेर गाउँमा रहेको विद्यालयमै अभिभावकहरुले छोराछोरीहरुलाई पढाउनुपर्नेमा जोड दिए । विद्यार्थीहरुको भविश्य शिक्षकसँगै अभिभावकमा समेत रहने भएकाले अभिभावकहरुले छोराछोरीलाई शिक्षा दिन अग्रसर हुनेपर्ने उनको भनाइ थियो ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश गुरुङले बालबालिकालाई विहान उठ्ने बित्तिकै घाँस दाउरा लिएर नआएसम्म खाना दिन्न भन्ने परिपाटीको अन्त्य गरी कामसँगै विद्यार्थीलाई विहान र बेलुका पढ्ने वातावरण अभिभावकले मिलाउन सके विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल हुने बताए ।

विद्यालयको अक्षयकोष संयोजक वीरबहादुर गुरुङले शिक्षक अभिभावक र विद्यार्थी मिलेर नै विद्यार्थीले परीक्षामा राम्रो परिणाम ल्याउन सकिने बताए । चन्दादाता यमन गुरुङले अभिभावकहरु शिक्षाबाट बञ्चित भएकै कारण पनि विद्यार्थीहरुलाई घरभित्रै अभद्र व्यवहार हुने भएकाले यसप्रति अभिभावकहरु सचेत हुनुपर्नेमा जोड दिए ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर गुरुङले ब्रिटिस वेल्फेरबाट विद्यालयलाई सहयोग सामग्री प्रदान गरेकोमा ब्रिटिस वेल्फेरलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक इन्द्रप्रसाद बास्तोलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक डम्मरकुमारी गुरुङ, विजयलक्ष्मी गुरुङ, विष्णुकुमारी गुरुङ लगायतको उपस्थिति थियो । विद्यालयका प्रध्यानाध्यापक इन्द्रप्रसाद बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा शिक्षिक शारदा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया