मुस्ताङको सौरुका किसानलाई भालु धपाउने यन्त्र

समाधान संवाददाता २०७८ वैशाख २ गते १३:२२

सुन्दरकुमार थकाली, जोमसोम ।

ओमविकास तथा देउकुमारी प्रतिष्ठानको आर्थिक सहयोगमा राष्ट्रिय अविस्कार केन्द्रले थासाङ—२ सौरुका किसानलाई भालु धपाउने यन्त्र उपलब्ध गराएको छ ।

मुस्ताङका तत्कालीन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ स्मृति सभा तथा तेस्रो साधारण सभा र दोस्रो अधिवेशनका अवसरमा सौरुका किसानलाई भालु धपाउने यन्त्र उपलब्ध गराइएको प्रतिष्ठानका सचिव गौतम शेरचनले जानकारी दिए ।

Advertisement

उनका अनुसार किसानलाई उपलब्ध गराइएको उक्त उपकरणको मूल्य ३२ हजार रुपैयाँ छ ।

बर्सेनि मुस्ताङको थासाङ गाउँपालिकाका किसानलाई भालुले सास्ती दिँदै आइरहेकोमा सौरुका वडाध्यक्ष नरप्रसाद हिराचनले जंगली भालु किसानलाई दुःख दिएको जाहेर गरेपछि प्रतिष्ठानले भालु धपाउन उपकरण उपलब्ध गराएको संस्थाका सचिव शेरचनले उल्लेख गरे । मुस्ताङको चिवाङ, टुकुचे, सौरु, कोबाङ, सिर्खुम, टिटी, कुञ्जो र छयो लगायत गाउँमा स्थानीय किसाले लगाएको अन्नबाली भालुले सखाप पार्दै आएको छ ।

Advertisement

प्रतिष्ठानले भालु धपाउने उपकरण उपलब्ध गराएपछि किसानले लगाएको अन्नबाली सुरक्षित हुने अपेक्षा गरिएको छ । कार्यक्रममा उक्त उपकरण परीक्षण गरिएको थियो । प्रतिष्ठानले परीक्षणका लागि तत्काल एक थान मात्र उपकरण उपलब्ध गराएको छ । उपकरण प्रभावकारी भए अन्य गाउँहरुमा समेत उपकरण उपलब्ध गराउने जनाएको छ । भालु धपाउने उपकरणको सोमबार कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले उद्घाटन गरिन् ।

सौर्य ऊर्जा जडित भालु धपाउने उक्त उपकरणमा अनअफ बटन छ । उपकरणको स्पीकर पछाडीको भागमा एकटिसीको नम्बर हुन्छ । अक्सर भालु आउने समयमा उक्त नम्बरमा फोन गर्नासाथ उपकरणबाट ५० थरीको विभिन्न प्रकारको आवाज निस्कन्छ । फेरि उपकरण बन्द गर्नु प¥यो भने स्पीकरणको पछाडि लेखिएको उक्त नम्बरमा फोर्न गर्नासाथ उपकरण स्वतः बन्द हुन्छ ।

प्रतिष्ठानको पहलमा वृक्षरोपण
मुस्ताङ थासाङ—२ कोवाङ खन्तीमा वृक्षरोपण गरिएको छ । कालिगण्डकी नदी छेउको खाली रहेको सरकारी प्रयोगविहीन जग्गामा करिब एक थान टंर्कीबाट ल्याइएको उच्च घनत्वकोे हाइब्रिड फेनर जातको ओखरका बिरुवा रोपण गरिएको प्रतिष्ठानले जनाएको छ । वृक्षरोपण कार्यक्रमको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले शुभारम्भ गरेकी थिइन् ।

वृक्षरोपणले कालिगण्डकी नदीको कटान रोकथाम गर्ने र खेतीयोग्य जमिन र बस्ती सुरक्षित राख्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रतिष्ठानकी अध्यक्ष सवी शेरचनले वृक्षरोपणले सामूहिक आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने जनाइन् ।


सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति

तत्कालीन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ स्मृति सभा,तेश्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन, उपाध्यक्ष गिरिसिंह शेरचन, उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन, कोषाध्यक्ष पूर्णप्रभा थकाली, सहसचिव जीवन थकाली छन् । सदस्यहरुमा नरप्रसाद हिराचन, छिरिङ ल्हामो गुरुङ, विपना शेरचन, लक्ष्मी विक, महेन्द्र शेरचन र तेजेन्द्र गौचन रहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया