वालिङका मेयर खाँड साइकल दाैड प्रतियाेगितामा प्रथम

समाधान संवाददाता २०७८ वैशाख २ गते १५:२२

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगरपालिकाले आयोजना गरेको मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँडले जितेका छन् । पोखराका फेवाताल किनार हल्लनचोकबाट सुरु पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरे ।

जितपछि प्रतिक्रिया दिँदै मेयर खाँडले वातावरण जोगाउन र स्वस्थ रहन साइकल महत्वपूर्ण साधन भएको बताए । प्रतियोगितामा दोस्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउँपालिका मेयर विष्णुबहादुर लामाले प्राप्त गरे । १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै उनले सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप्त गरे ।

Advertisement

प्रतियोगितामा कास्कीको माच्छापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । उनले पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला पाए ।

पोखरा महानगरपालिकाको आयोजनामा पहिलोपटक भएको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाउँपालिकाका गरी ९ जनाले प्रतियोगीका रुपमा सहभागिता जनाएका थिए । नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखहरुलाई एकै ठाउँमा जम्मा गरेर अनुभव आदानप्रदानसँगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

Advertisement

यसैबीच पोखरा महानगरपालिकाले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । मेयर साइकल दौड प्रतियोगिताको समापनमा पोखरा महागनरले रजत विजेता जमुना थापालाई नगद १ लाखसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । १३ औँ सागमा साइकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठ, नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पोखराका पुराना साइकल चालकहरुलाई समेत सम्मान गरिएको छ । दैनिक जीवनमा साइकल प्रयोग गर्ने अग्रजहरु लोकबहादुर थापा, नीरज थापा, वसन्त सुवाल, चिजबाहदुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई महानगर प्रमुख जिसी र उपप्रमुख गुरुङले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया