प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीः ३२५ मतकाे पराजयदेखि ३८२ मतले विजयसम्म

समाधान संवाददाता २०७८ वैशाख ३ गते १५:४०

अनुप पौडेल, समाधान, पाेखरा ।

प्रतिपक्ष दलहरुले राखेको अविश्वास प्रस्ताव पारित भए गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुनेछन् । उनलाई मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेस, माओवादी र जसपाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपुरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मे÷हुर्केका हुन् ।

Advertisement

उनका बुवा प्रजातन्त्र सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । द्रौपदा शर्माको कोखबाट २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा उनको जन्म भएको हो ।

२०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र नेपाली पोखरेल आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका छन् । त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

Advertisement

प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगे । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना बस्नुप¥यो । त्यसअघि २०३७ सालको जनमत संग्रहको क्रममा ८ महिना कास्की कारागारमै बसे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै २ महिना जेल चलान भए ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा ग¥यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेल चलान भए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । ९ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए ।

२०४८ सालको आम निर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए । २०६२÷६३ सालको जनआन्दोलनमा उनले नवलपुरको नेतृत्व गरे । त्यो बेला पनि परासी कारागार चलान भए । कांग्रेसको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा ३ सय २५ मतले पराजित भए । उनले त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले माओवादी गठबन्धनबाट उम्मेद्वार रहेका सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया