पूर्वाधार विना फुटपाथ व्यवसायीलाई कर

समाधान संवाददाता २०७८ वैशाख ३ गते १५:५१

सुन्दरकुमार थकाली, जोमसोम ।

घरपझोङ गाउँपालिकाले विना पूर्वाधार मुस्ताङको जोमसोमका फुटपाथका व्यापारीसंग कर लिन थालेको छ ।

पालिकाको त्यस कार्यबाट धार्मिक तथा पर्यटकीय क्षेत्रमा फुटपाथमा पसल थापेर व्यापार दैनिक जिविकोपार्जन चलाएका व्यापारीहरु यतिबेला तनाबमा छन् ।

Advertisement

ति महिला व्यापारीहरु बिहानै उठेर सडकको छेउमा बसेर साँझसम्म मुस्ताङको कोशेली बिक्री गर्छन् । उनीहरुलाई सामान बिक्री गर्ने र त्यसबाट आएको नाफाले परिवार र छोराछोरी स्कुल पढाउनु पर्ने बाध्यता छ । फुटपाथको व्यापार गर्ने महिलाहरुसंग पालिकाले दैनिक २० रुपैयाँका दरले कर उठाउन थालेको छ । फुटपाथमा व्यापार गर्नेले महिनामा ६ सय रुपैयाँ कर पालिकालाई तिर्छन् । पालिकाले कर उठाएपनि उनीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्ने विषयमा कुनै योजना बनाएको छैन् । पालिकाले अस्थायी फुटपाथ बनाउने आश्वासन दिएको छ । संरचना निर्माण नहुँदा उनीहरु कमाई खाने ठाउँ गुम्ने होकी भन्ने चिन्तामा छन् ।

केही हप्ता देखि उनीहरुले व्यवसाय गरेको स्थानमा प्रशासन र प्रहरीले अवरोध खडा गरेको छ । प्रशासन र प्रहरीले सडक छेउ फुटपाथ पसल गर्दा सडकमा असुरक्षा तथा जोखिम बढेको दाबी गरेको छ । फुटपाथ व्यवसायीले मदिराजन्य पदार्थ खुलेआम सडकमा बिक्री गरेकोले फुटपाथ राख्न निषेध गरेको प्रशासनको दाबी छ । प्रशासनले साना फुटपाथ व्यवसायीलाई वैशाख महिनासम्म वैकल्पिक व्यवस्था गर्न अल्टिमेटम दिएको छ । स्थानीय प्रशासनले फुटपाथ व्यवसायीलाई घुमन्ते व्यापार गर्न भने रोक लगाएको छैन् ।

Advertisement

फुटपाथ व्यवसायी रिता गुरुङले व्यवसायीहरुको टोली पटक÷पटक पालिकामा डेलिगेशन गएको भएतापनि माग सम्बोधन नभएको बताइन् । उनले फुटपाथ व्यवसायीलाई चांडो भन्दा चांडो वैकल्पिक व्यवस्था गर्न आग्रह गरिन् । फुटपाथ व्यवसायी समिक्षा विकले फुटपाथ व्यवसायीलाई प्रहरीले दमन गरेको आरोप लगाइन् । उनले काम गरेर खाने अधिकारलाई कसैले अवरोध गर्न नहुने तर्क गरिन् ।

महिला उद्यमी सघं मुस्ताङका अध्यक्ष सुकुन रसाईलीको नेतृत्वमा फुटपाथ व्यवसायी महिलाहरुले बिहीबार घरपझोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा पुगेर ध्यानार्कषण गराएका छन् । प्रशासनले सडक छेउछाउमा पसल गर्न नपाउने उल्लेख गरेको छ । घरपझोङमा प्रशासनतर्फ कर्मचारी र जनप्रतिनिधि सहभागी नभएकाले कुनै छलफल हुन सकेन ।

तपाईको प्रतिक्रिया