माझठानाका किसानलाई गहुँ चुट्ने र फल्ने झन्झन्ट अन्त्य

समाधान संवाददाता २०७८ वैशाख ३ गते १९:५१

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानाको डाँडागाउँ दलित बस्तीका किसानलाई शतप्रतिशत अनुदानमा कोदो तथा गहुँ चुट्ने र फल्ने मेसिन प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी)तथा पोखरा महानगरपालिका कृषि महाशाखाको संयुक्त आर्थिक साझेदारीमा सञ्चालित कोभिड १९ प्रतिकार्यका लागि सामाजिक आर्थिक पुनर्उत्थान परियोजनाले किसानलाई सो मेसिनसहित झार गोड्ने मेसिन (विडर) समेत वितरण गरिएको हो ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २८ की कार्यवहाक अध्यक्ष अम्बिका बुढाथोकीले मेसिन पाएपछि महिलाले खुट्टाले कोदो माड्नु पर्ने झन्झट अन्त्य भएको बताइन् ।

‘महिलाले बारीमा दिनभर कोदोको बाला टिप्ने र घरमा ल्याएर रातभर खुट्टाले माड्नेतथा अर्को दिन सुकाउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब मेसिनले सबै काम गर्ने भएपछि महिलालाई ठूलो राहात हुने भयो ।’ उनले चेतनशील कृषि समूहलाई मेसिन प्रदान गरिएपनि सबै किसानले उपयोग गर्न पाउने उल्लेख गरिन् ।

Advertisement

स्थानीय किसान नरबहादुर नेपालीले १सय घरधुरी रहेको दलित बस्तीमा करिब ५ सय मुरी कोदो उत्पादन हुने जानकारी दिए । उनले खुट्टाले कोदो माड्दा कठिन भएको अवस्थामा मेसिनले किसानलाई राहत पुगेको उल्लेख गरे । उनले भुर्तेल गाउँबाट साग किनेर खाने दलित बस्ती परियोजना आएपछि काउली बन्दा बेच्ने ठाउँमा पुगेको दाबी गरे ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोनाको मारमा परेका किसानलाई सांकेतिक रुपमा आयआर्जन गरी उत्पादनमा जोड्न कार्यक्रम ल्याएको बताए ।

उनले जग्गाको उचित व्यवस्थापन गरी मेसिन राखेर सबैले समान रुपमा उपयोग गर्न सुझाव दिए । मेयर जिसीले किसानले उत्पादन गरेका तरकारीको बजार खोज्न आग्रह गरे ।

‘महानगरले किसान बजारमार्फत तरकारीको बिक्रीको व्यवस्था मिलाइने छ,’उनले भने, ‘किसानको उत्पादन विक्री नभए महानगरले खरिद गर्ने छ ।’ उनले किसानको उत्पादन बिक्री नभए महानगरले क्षतिपूर्ति दिने नीति लिएको जानकारी दिए ।

युएनडिपी गण्डकी प्रदेशका प्रमुख सुदीप अर्यालले कोरोनाको कारण किसानको आर्थिक र सामाजिक क्षेत्रमा असर परेको बताए । उनले दिगो विकास लक्ष्य २०३० अन्तर्गत कसैलाई पनि पछाडि नछोडौं भन्ने सिद्धान्त अनुसार दलित तथा विपन्न समुदायसम्म कार्यक्रम ल्याएको जानकारी दिए ।

असल छिमेकी सहयोग संघ(गोनेसा)का महासचिव तथा परियोजनाका व्यवस्थापक रामप्रसाद सुवेदीलेपोखरा महानगरले उपलब्ध गराउने न्यूनतम सेवा सुविधा पाउन कठिन भएको क्षेत्रमा कार्यक्रम ल्याएको बताए । उनले बाल विकास केन्द्रको सञ्चालन व्यवस्थापनमा सहकार्य गर्ने उल्लेख गरे ।

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले ८५ प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्न सक्ने जानकारी दिए । कार्यक्रममा चेतनशिल कृषि समूहका अध्यक्ष गोमा नेपाली, स्थानीय व्यवसायी मंगलबहादुर नेपालीले कृषि समूहले ८ वटा टनेल बनाएर टमाटर, काउली र बन्दा लगायत खेती गरेको बताए ।

तपाईको प्रतिक्रिया