पत्रकार महासंघ गण्डकीको पदस्थापन

समाधान संवाददाता २०७८ वैशाख ३ गते २१:५७


पोखरा, ३ वैशाख
चैत २५ गतेको निर्वाचनबाट चुनिएको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको शुक्रबार पोखरामा पदस्थापन र सपथ भएको छ । अध्यक्ष नारायण शर्मासहित पदाधिकारी र सदस्यलाई निर्वाचन समिति संयोजक कोमलनाथ बरालले सपथ गराए ।


त्यस अवसरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानसँग बाझिने कानुन ल्याउन नदिने प्रतिबद्धता जनाए । प्रदेश सभामा आएको आमसञ्चार विधेयकमा कमीकमजोरी छन् भन्ने भएरै सरोकारवालासँग छलफल गरी अघि बढाइने भएको जानकारी पनि उनले दिए ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकार ऐन ल्याउन सक्नु महासंघको इतिहासकै सबैभन्दा ठूलो उपलब्धि भएको सुनाए । उनले भने, ‘श्रमजीवी र लगानीकर्ता दुवैपक्षले अपनत्व नगर्दा कार्यान्वयन चुनौती बनेको छ, संशोधनका लागि पनि तयार भएर यसलाई कार्यान्वयन गर्नु महासंघको अबको चुनौती हो । पोखरेलले निर्वाचन अवधिको गठबन्धन अन्त्य भएको घोषणा गरे ।

Advertisement


गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले राजनीतिक दल लोकतान्त्रिक भएमात्र संघीयता बलियो हुने धारणा राखे । नेपाल पत्रकार महासंघका सचिव रोशन पुरीले महासंघमा सदस्यता शुद्धीकरण गर्ने प्रतिबद्धता जनाए । केन्द्रका सचिव दीपेन्द्र चौहानले प्रदेशमा काम गर्दा केही समस्या देखेकाले आफू केन्द्रमा गएको बताए ।


नवनिर्वाचित अध्यक्ष शर्माले आफू सधैं पत्रकारको हकहितका काममा लाग्ने बताए । पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठले महासंघको नेतृत्व हेर्दा देखिने र खोज्दा भेटिने हुनुपर्ने बताए । पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलले देशभरमै भवन बनाउन गण्डकी समितिमात्रै सफल बनेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया