नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

समाधान संवाददाता २०७८ वैशाख ४ गते १६:२२

सुरुवाती साझेदारीमा यसअघि पारस र ज्ञानेन्द्रले बनाएको कीर्तिमान तोड्दै कुशल र आशिफले कीर्तिमान कायम गरे

Advertisement

समाधान संवाददाता

काठमाडौँ– त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्डले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो।

जवाफी व्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका तर्फबाट कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गरे। कुशल र आरिफले ओपनिङ पार्टनरसिपमा नयाँ कीर्तिमान कायम गरे । यसअघि सागमा भुटानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लबीचको साझेदारीको कीर्तिमान यी २ युवा व्याट्सम्यानले तोडे ।

Advertisement

४६ बलको सामना गरेका कुशल ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाएर आउट भएका थिए। आशिफले ३८ बलमा चार चौका र चार छक्कासहित ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन जोडे।

यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ‍४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।

नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट एडवार्ड्सले ३०, पिटर सिलारले २३ र एन्टोनिउस स्टलले २० रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिए।

नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ।

सिरिजको शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्। फाइनल वैशाख ११ गते हुनेछ।

तपाईको प्रतिक्रिया