प्रचण्ड भन्छन् – गण्डकीमा नयाँ सरकार बन्छ

समाधान संवाददाता २०७८ वैशाख ४ गते १९:३१

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी र लुम्बिनीमा सरकार परिवर्तन हुने संकेत गरेका छन्। अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले अहिले सरकार गठन र पुनर्गठनको प्रक्रिया अनुसार शुक्रबार कर्णालीमा सरकारले अविश्वासको प्रस्ताव फेल गराएको भन्दै अब गण्डकी र लुम्बिनीमा सरकार परिवर्तन हुने संकेत गरेका हुन्।

Advertisement

‘साथीहरु, हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुँगियो ? तपाईँहरुले थाहा पाइसक्नुभएको छ। अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। र, बहुमतले सरकार परिवर्तनको लागि नयाँ मुख्यमन्त्रीको नामसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ’, प्रचण्डले भने, ‘लुम्बिनीमा पनि सरकार परिवर्तनको लागि करिबकरिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ।’

प्रचण्डले प्रदेशबाट अब केन्द्रमा भएको अन्यौलता र अराजकताको स्थिति अन्त्य गर्न लागि परेकोसमेत बताए। ‘हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौं’, प्रचण्डले भने।

Advertisement

अध्यक्ष प्रचण्डले पार्टी छाडेर जानेलाई फकाउन मन लाग्न छाडेको बताए। ‘कतिपय मानिसहरु उता गए, फकाउनपर्यो भन्छन्। मलाई अचेल फकाउन मन लाग्न छोड्या छ। जाने जाउन जस्तो लाग्छ’, प्रचण्डले भने।

क्रान्तिकारी इतिहास, मान प्रतिष्ठा बनाएका नेताहरुले पार्टी छाडेर केपी ओलीको प्रतिगमनकारी भूमिकाको सहयात्री बन्नेलाई सम्झाउनु मूर्खता हुने उनको भनाइ छ।

जनयुद्धको सुरुवात ६५ जनाबाट भएको स्मरण गर्दै उनले १० वर्षको अवधिमा देशमा राजनीतिक परिवर्तन भएको बताए। ‘जनयुद्ध सुरुवात ६५ जनाबाट भएको थियो। के भयो नेपाल ? के भयो राजनीति, के भयो परिवर्तन ?’, प्रचण्डले प्रश्न गर्दै भने, ‘अहिले त देशभर लाखौं कार्यकर्ताको पंक्ति छ। तिनलाई एकचोटी जगाउने र फेरि जनतातिर फर्काउने आवश्यकता छ।’

माओवादीप्रति भ्रम फैलाउने काम भइरहेको भन्दै उनले कोही भ्रममा पर्न आवश्यक नरहेको पनि बताएका छन्। माओवादीप्रति जनतामा विश्वास नटुटेको उनको भनाइ छ। अध्यक्षले भने, ‘जाली फटाहाले माओवादी सिद्दियो, प्रचण्ड सिद्धियो भनेर भ्रम छर्ने काम गरेको छ। दिग्भ्रमित पार्ने काम भएको छ। जनतामा त्यस्तो छैन।’

प्रचण्डले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने दाबीसमेत गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरुको कारणले आएको स्पष्ट पार्दै उनले यस्तो दाबी गरेका हुन्। ठूलो संघर्ष र बलिदानपछि बनेको संविधान र कम्युनिस्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको उनले बताए।

तपाईको प्रतिक्रिया