नेपाल पक्षले बनायो कास्की र पोखरा महानगरमा युवा कमिटी

समाधान संवाददाता २०७८ वैशाख ५ गते ०:००

समाधान संवाददाता, पोखरा

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ । पोखरामा शनिबार भएको युवा भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो ।

आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र नवराज देवकोटा छन् । सूर्यप्रकाश ढुंगाना सचिव, साजन तामाङ, सन्देश गर्बुजा, किशोर तिमिल्सिनालाई सहसचिवको जिम्मेवारी दिइएको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए । कमिटीको कोषाध्यक्षमा विश्व सुवेदी चयन भएका छन् ।

Advertisement

भेलाले सुमन ढुंगानाको अध्यक्षतामा १ सय १ सदस्यीय नै पोखरा महानगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष प्रह्लाद लामिछाने, दुर्गा थपलिया र शालिक बराल छन् । सचिवमा उज्ज्वल बस्नेत, सहसचिवमा हेमराज बराल, शशांक गौतम र रञ्चित गुरुङ छन् । कोषाध्यक्ष रोशन थुलुङ राई चयन भएका छन् ।

नेपाल एमाले नेपाल समूहका कास्की अध्यक्ष धनराज आचार्यले युवा संघका कमिटी घोषणा गरेका थिए । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ खुवाए । सपथपछि नेता पन्तले देशैभरि केपी शर्मा ओली प्रवृत्तिलाई अन्त्य गर्न लडाईं चलिरहेको बताए ।

Advertisement

महाधिवेशनबाट निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको फागुन २८ गते निर्णय नसच्चिएसम्म कुनै पनि हालतमा पार्टी एक हुन नसक्ने पन्तले बताए । ‘ओलीलाई हामीले भनिरहेका छौं, फागुन २८ को निर्णयबाट ब्याक हुनुस् र सच्चिनुस्,’ पन्तले भने, ‘जबसम्म निर्णय सच्याउनुहुन्न, तबसम्म एक हुन सकिँदैन । आत्मसमर्पण गर्दैनौं ।’

ओली प्रवृत्तिसँग लड्न सर्वसत्तावादलाई हटाउने गरी युवाहरुले लड्नुपर्ने पन्तको भनाइ थियो । पन्तले युवाहरुमा आलोचनात्मक चेत हुनुपर्ने बताउँदै हरेक ठाउँमा प्रश्न गर्न आग्रह गरे । देशभरिबाट ओलीले गरेका अन्यायका विरुद्ध लड्न युवाहरु लाग्नुपर्ने उनको भनाइ थियो ।

फागुन २८ को निर्णय सच्याउने हो भने पार्टीमा खुला छलफल गरेर अगाडि बढ्न सकिने पन्तले बताए । आफूहरुले नभई ओलीले एमालेमा समान्तर कमिटी बनाएको पन्तको दाबी थियो ।

‘सर्वोच्चले ०७५ जेठ २ कै अवस्थामा पार्टीलाई फर्काइदिएपछि केन्द्रदेखि तलसम्म त्यही कमिटी हुनुपर्ने होइन ? तर, ओलीले विधिविधान मिचेर सबै नेता कार्यकर्ता हटाउँदै, कारबाही गर्दै जानुपर्ने कारण के थियो ?’ पन्तले भनिन्, ‘के एमाले नेता कार्यकर्ताले अपराध गरेका थिए । ओली नसच्चिएसम्म अब पार्टी एक हुन नसक्ने स्थिति आयो ।’

भेलामा बोल्ने एमाले तथा युवा संघका नेताले अब ओलीको सर्वसत्तावाद धेरै समय नटिक्ने बताएका थिए । एमाले केन्द्रीय सदस्य दिलु पन्तले पार्टीभित्रको अपमान सहन नसकेर विद्रोह गर्ने तहसम्म नेताहरु आइपुगेको बताइन् । ७७ जिल्लामै युवा संघ गठन हुने र पार्टीभित्रको अतिवादविरुद्ध लड्ने उनको भनाइ थियो ।

एमाले बागलुङका अध्यक्ष तथा प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले ओलीकै कारण बलियो पार्टी आज कमजोर र विभाजित बनिरहेको बताए । ओली नसच्चिएसम्म पार्टीभित्र विद्रोह नरोकिने र युवाहरुले सत्य, न्यायको पक्षमा लड्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

भेलामा एमाले केन्द्रीय सदस्य श्रीनाथ बराल, एमाले निर्वाचन आयोग सदस्य विजयबाबु वनवासी, पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति सोभियत ढकाल, नेपाल समूहका अनेरास्ववियु केन्द्रीय सचिव राजन शर्मा पराजुली लगायतले ओलीको सर्वसत्तावाद अब धेरै दिन नटिक्ने दाबी गरे ।

नेता माधवकुमार नेपालले चैत १९ गते कास्कीमा धनराज आचार्यको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेका थिए । चैत २५ गते १ सय ४९ सदस्यीय कमिटीलाई केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया