अटेरी व्यवसायी, मूकदर्शक पाेखरा महानगर

समाधान संवाददाता २०७८ वैशाख ६ गते १३:०७

अनुप पौडेल, समाधानन, पोखरा ।

फेवाताल किनारबाट ६५ मिटर दुरीसम्म कुनै संरचना बनाउन पाइँदैन । त्यसरी बनाइएका संरचनामा बेलाबखत पोखरा महानगरले डोजर चलाउँछ । महानगरले बेलाबेला चलाउने डोजर देखाउनलाई मात्रै हो भन्ने भान हुन्छ ।

बाँध मर्मतका लागि पानी घटेको मौकामा पोखरा–१८ खपौंदीस्थित फेवाताल किनारमा रिटेनिङ पर्खाल लगाउने काम भइरहेको छ । महानगर जानकार भए पनि मूकदर्शक बनेको छ । अहिले काम भइरहेको ठाउँ त्यही हो, जहाँ मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङसहितको टोलीले २८ मंसिरमा डोजर चलाएको थियो ।

Advertisement

डोजर चलाएको केही समय त्यहाँ कुनै काम भएन । ताललाई पुरेर रिटेनिङ पर्खाल लगाउने काम भइरहेकोबारे महानगरमा जानकारी गराउँदा–गराउँदै वडाध्यक्ष रणबहादुर थापासमेत थाकिसके । ‘उनीहरु हाम्रो जग्गामा बनाउन पाउनुपर्छ भन्दै आएका थिए । तालको विषय भएकाले महानगरमा पठाएँ,’ वडाध्यक्ष थापाले भने, ‘मैले त्यो काम सुरु हुनेबित्तिकै मेयर सा’बलाई जानकारी गराएको हो । त्यताबाट वास्ता भएन ।’

८ जना व्यक्तिले संरचना बनाइरहेको पाएपछि महानगरको टोली २७ र २८ मंसिरमा खपौंदी क्षेत्र पुगेको थियो । संरचना नबनाउने भन्दै कागज नै गराइएको थियो । कागजी सम्झौता पालना नगरेपछि महानगरले २८ मंसिरमा १५ ट्रिप ढुंगा, केही थान त्रिपाल र जाली जफत गरेको थियो । कुनै संरचना नबनाउने सर्त भए पनि स्थानीय होटल व्यवसायीले अहिले करिब २ फिट अग्लो डेढ सय मिटर लामो पर्खाल लगाइसकेका छन् ।

Advertisement

ती व्यवसायीले खगराज आचार्यबाट जग्गा भाडामा लिएर भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित पर्खाल लगाइरहेका हुन् । त्यसरी पर्खाल लगाउनेहरु महानगरबाट सौन्दर्यकरणका लागि अनुमति पाएको दाबी गर्छन् । आइतबार बिहान ८ बजे नागरिक समाजको टोली पुग्दा त्यहाँ डोजर थियो । पछि स्थानीय युवाले डोजर लुकाए ।

नागरिक अगुवा रामबहादुर पौडेल ताल नै मिचेर रिटेनिङ पर्खाल लगाइएकाले त्यो सौन्दर्यकरणका लागि हुनै नसक्ने बताउँछन् । ‘बलियो खालको रिटेनिङ वाल लगाइएको छ । त्यही ठाउँबाट अल्लि पहिलासम्म जलकुम्भी झार निकाल्थ्यौं,’ आइतबार बिहान खपौंदी पुगेका उनले थपे, ‘फेवातालको सीमाना मिचेर, पर्खाल लगाउनु कसरी सौन्दर्यकरण हुन्छ ?’

एकपटक भत्काउनु तर पछि चुप लागेर बस्नुले महानगरको भूमिकामै शंका उत्पन्न गरेको छ । मापदण्डभित्रै संरचना बनिरहँदा चुप बस्नुले महानगर महाजालको षड्यन्त्रमा फसेको हुनसक्ने अभियन्ता पौडेलले शंका व्यक्त गरे ।

‘यो मिलेमतो हो, साँठगाँठ हो । म पिटेजस्तो गर्छु, तिमी रोएजस्तो गर भनेर गरिएको षड्यन्त्र हो,’ पौडेलले भने, ‘शंका मेट्न मेयरसा’ब, प्रमुख प्रशासकीय अधिकृतसहित यहाँको स्थानीय प्रशासनले डोजर लगाएर ढुंगामाटो निकाल्नुपर्छ ।’

महानगर भन्छः अनुमति दिइएको छैन

तालको मापदण्डभित्र पर्खाल बनाउनेले अनुमति लिएको बताए पनि महानगरपालिकाले भने अनुमति नदिएको बताएको छ । सौन्दर्यकरण गर्ने भन्दै अनुमति माग्न पटकपटक आए पनि नदिइएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

‘भत्काउन पर्दा भत्काउँछु । मैले गार्डेनिङमात्रै गर्ने हो भनेर निवेदन लिएर आउनु भएको थियो,’ उनले भने, ‘नगरपालिकाले अनुमति दिन सक्दैन भनेको हो । त्योभन्दा थप जानकारी छैन । गलत भएको कुरालाई नियन्त्रण गर्नुपर्छ ।’ मेयर मानबहादुर जिसीसमक्ष यो कुरा राख्ने र गलत भएको भए कारबाही प्रक्रिया अगाडि बढाउने पौडेलले बताए ।

फेवातालको नक्सांकन र सीमांकन ३ महिना पहिल्यै सकेको चार किल्ला निर्धारण, नक्सांकन तथा सीमांकन समितिले अहिले दूषित जग्गा पहिचान गरिरहेको छ । फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गरिएको छ ।

जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल संयोजकत्वमा पोखराका मेयर, डिभिजन वन कार्यालय कास्की प्रमुख, राष्ट्रिय ताल संरक्षण समितिका प्रतिनिधि, जिल्ला मालपोत कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि लगायत सदस्य र नापी कार्यालय कास्कीका प्रमुख सदस्य सचिव रहने गरी गत कात्तिक पहिलो साता समिति गठन भएको थियो ।

२ महिना पहिला सार्वजनिक सो समितिको प्रतिवेदन अनुसार ताल ११ हजार २ सय ५५ रोपनी (५.७२६ वर्ग किलोमिटर) छ । २०६९ सालमा विश्वप्रकाश लामिछाने नेतृत्व समितिले बुझाएको प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर) रोपनी थियो । ८ वर्षको अवधिमै फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको यी २ प्रतिवेदनले देखाउँछन् ।

नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धर पोखराको अस्तित्व बचाउन फेवाताल जोगाउन अत्यावश्यक रहेको बताउँछिन् । ‘जसरी हुन्छ फेवाताल बच्नुपर्छ । पोखराको आयस्रोतको कारण यही ताल हो,’ उनले थपिन्, ‘यसको सफाइ र संरक्षण छ ।’

तपाईको प्रतिक्रिया