पाेखराबाट सिमरा र विराटनगर पनि हवाई सेवा सञ्चालन हुने

समाधान संवाददाता २०७८ वैशाख ७ गते १३:५२

समाधान संवाददाना, पोखरा ।

बुद्ध एयरले पोखराबाट नयाँ ३ गन्तव्यमा साताका ३ दिन उडान गर्ने भएको छ । काठमाडौं—पोखरा दैनिक १० उडान गरिरहेको बुद्धले केही समययतादेखि पोखराबाट भरतपुर र भैरहवा पनि उडान गरिरहेको छ ।

वैशाख १८ गतेदेखि उसले पोखराबाट नेपालगन्ज, सिमरा र विराटनगर पनि उडान गर्ने भएको हो । नेपालगन्ज बुध, शुक्र र आइतबार उडान गर्ने योजना रहेको बुद्धका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाए । उनले सिमराको उडान पनि साताका तिनै बार हुने र विराटनर सोम, बिही र शनिबार उडान गरिने जानकारी दिए ।

Advertisement

विदेशी पर्यटक नआइरहेको बेला स्वदेशीकै भरमा उडान थपिएको उनले सुनाए । पोखराबाट थपिएका ३ गन्तव्यमा बुद्धले १८ सिटे बिचक्राफ्ट जहाजबाट उडान गर्न लागेको हो ।

काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो ।

Advertisement

यसअघि पोखराबाट नेपालगन्जसम्मको उडान सेवा सीता एयरले सुरु गरिसकेको छ । अहिले उसले प्रत्येक दिन उडान गरेको छैन । यात्रुको मागअनुसार सातामा १ वा २ दिन उडान गर्दै आएको छ ।

यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर–७२ जहाजबाट उडान सुरु गरिने बुद्धका लागि पोखराका स्टेसन म्यानेजर गौतम बरालले जनाए । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ ।

बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ । नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा नेपालगन्ज उडान हुँदा भारतीय पर्यटकलाई पोखरा आउन सजिलो हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि चर्चामा रहेर पनि हवाइ सेवाले जोडिन नसकेको पोखरा–नेपालगन्ज फागुन ७ गतेबाट जोडिएको थियो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने भन्दै पोखरा र नेपालगन्जका व्यवसायी मिलेर सीता एयरलाइन्सको १८ सिटे जहाज चार्टर नै गरेर आउजाउ गर्ने अभियानै चलाए ।

१ महिनासम्म निरन्तर चार्टर जहाजले पोखरा–नेपालगन्ज उडान भरे पनि केही समययता रोकिएको छ । राम्रो मौसम र पर्याप्त यात्रु नहुँदा नियमित उडान हुन नसकेपछि नयाँ हवाई गन्तव्यको सम्भावना भने उजागर भइसकेको छ ।

पोखरा–विराटनगर हवाई सेवाले जोड्ने भन्दै गत वर्ष एउटा उडान भयो । तर, विभिन्न कारणले त्यो पहिलो उडानपछि अर्को जहाजले पोखरा–विराटनगर गरेन । पोखरा–भैरहवा, पोखरा–सिमरा पनि नियमित हवाई सेवाले जोड्न नसके पनि निरन्तर छलफल र मुख्य एजेण्डा भने बन्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया