स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दोहोरी साँझ चलाउने व्यवस्था गर्न माग
समाधान संवाददाता, पोखरा ।
लोक तथा दोहोरी क्षेत्रका कलाकारहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दोहोरी साँझ चलाउन पाउनुपर्ने जिकिर गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको परिप्रेक्ष्यमा उनीहरुले दोहोरी साँझ संगीतको पाठशाला भएकाले बन्द गर्दा धेरै कलाकार विचलित हुने तर्क गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका उपाध्यक्ष पुरुषोत्तम न्यौपानले विगतमा भएको लकडाउनका कारण दोहोरी साँझ बन्द हुँदा धेरै कलाकार विस्थापित भएको बताए ।
दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले नव वर्ष २०७८ सालको अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उपाध्यक्ष न्यौपानेले दोहोरी साँझले धेरै कलाकार उत्पादन गरेको दाबी गरे । ‘दोहोरी साँझमा गाएर धेरै कलाकारले गुजरा चलाउने मात्र होइन । उनीहरु गायन क्षेत्रको निखारता ल्याउने ठाउँ पनि हो,’ उनले भने, ‘विकृति विसंगति भएर हटाउँदै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चलाउने व्यवस्था गर्नुपर्छ ।’
उनले दोहोरीमा गीत गाएर धेरै कलाकार स्थापित भएको दाबी गरे । उनले सरकारको पछिल्लो निर्णयले जिन्दगी नै गीत संगीतमा समर्पित गरेका कलाकारका लागि बाँच्न कठिन हुने तर्क गरे ।
गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले खेलकुदको नियुक्ति टुंगिएको परिप्रेक्ष्यमा अब छिट्टै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन हुने बताए । उनले स्रष्टाहरुको लागि रोयल्टी व्यवस्थापनका लागि नीतिगत व्यवस्था हुन लागेको उल्लेख गरे । पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहालले प्रतिष्ठानमा निर्वाचित समिति भित्रबाट सदस्य सचिव बनाउनु पर्ने व्यवस्था सहित ऐन संशोधन गर्न लागेको जानकारी दिए ।
उनले महानगरका परिषद्का सदस्यभन्दा कला क्षेत्रकै व्यक्तिबाट बाँकी मनोनित गर्ने व्यवस्था गर्न लागेको उल्लेख गरे । महानगरका सबै वडाका लोक साहित्य र संगीत क्षेत्रका संघ संस्थाहरुको विवरण संकलन गर्न लागेको जानकारी दिदै उनले सांस्कृतिक संस्थान र प्रतिष्ठान पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका दर्ता गर्ने व्यवस्था गर्न लागेको बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिष्ठानले राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई कलाकारका समस्या अवगत गराएको बताए । उनले प्रदेश स्तरको संस्थागत तथा नेतृत्व विकासदेखि कार्यालय व्यवस्थापन र निर्णायक बन्ने पाठ्यक्रम बनाएर कार्याशाला गर्न लागेको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष टेकबहादुर क्षेत्री, प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, सचिव माधव चापागाई, सल्लाहकार संयोजक सोमनाथ बास्तोला कोरोना कहरको कारण लोक तथा दोहोरी क्षेत्रका कलाकारले थप पीडा भोग्न परेको बताए ।
तपाईको प्रतिक्रिया