आरोही अनुभव– ‘बच्चालाई सम्झँदै रुन्थ्यौं’

समाधान संवाददाता २०७८ वैशाख ८ गते ११:२७

अनुप पौडेल, पोखरा ।

क्षणक्षणमा हिउँपहिरो खस्छ, चुचुरोसम्म पुग्ने बाटो पनि निकै अप्ठेरो छ । त्यसैले अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहण निकै जोखिमपूर्ण मानिन्छ । अहिलेसम्म ३ सय हाराहारीमा आरोही चढेको अन्नपूर्ण प्रथमको चुचुरोमा ३ वैशाखमा एकैदिन ६७ जना पुगे । १ मे सन् २०१६ (१९ वैशाख २०७३) मा ३२ जना पुगेको रेकर्ड नयाँ वर्षसँगै तोडिएको छ ।

विश्वका ८ हजार मिटर अग्ला हिमालमध्ये पहिलोपटक आरोहण गरिएको यो हिमालको चुचुरोमा गत २ वैशाखसम्म नेपाली महिला पुगेका थिएनन् । १२ जना महिला रहेकोमा ६ जना नेपाली महिला थिए । अन्नपूर्णको ७० वर्षे आरोहण इतिहासमा नेपाली महिलाले अन्नपूर्ण प्रथम चढेको यो पहिलोपटक हो । अनुभवी हिमाल आरोही महिलाहरु माया शेर्पा, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा याङ्जुम शेर्पा, डाबुटी शेर्पा र पूर्णिमा श्रेष्ठ अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका हुन् ।

Advertisement

यी आरोही कोही पोखरामा छन्, कोही काठमाडौं पुगिसके । दावा याङ्जुम र डाबुटी शेर्पाबाहेक पोखरामा रहेका प्रथम नेपाली महिला आरोहीलाई सोमबार सम्मान गरिएको छ । ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) पश्चिमाञ्चलसहित पर्यटनसम्बद्ध संस्थाले आरोहीलाई सम्मान गरेका हुन् ।

अन्नपूर्ण चढेकी मायाले आफ्नो अनुभव सुनाइन्, ‘राति हिउँ चर्केर पड्केको सुनिन्थ्यो । यहाँ सुत्न नपरे पनि हुन्थ्योजस्तो लाग्थ्यो ।’ अन्नपूर्ण उनले आरोहण गरेको ८ हजार मिटर अग्लो छैंटौ हिमाल हो । ओखलढुंगाकी मायाले ३ पटक सगरमाथा चढिसकेकी छन् । त्यसबाहेक चोयु (८१८८ मिटर), माउन्ट केटु (८६११ मिटर), मनास्लु (८१६३ मिटर), कञ्चनजंगा (८५८६ मिटर) पनि चढिसकिन् ।

Advertisement

अन्नपूर्ण आरोहण पुगेकी मायासहित पासाङ ल्हामु, शर्मिला आमा हुन् । उनीहरुले हिमालमा हुँदा पनि घरमा रहेका बच्चा सम्झिरहे । ‘विवाहपछि हिमाल चढ्न सक्दैनन् भनिन्छ । ३ जना आमाले चढ्यौं,’ मायाले सुनाइन्, ‘बच्चालाई सम्झँदै रुन्थ्यौं । एकअर्कालाई अँगालो मारेर खुसी हुन्थ्यौं । मरिन्छ, बाँचिन्छ थाहा थिएन ।’

अन्नपूर्णको सफल आरोहण गरेपछि आफूलाई धेरैले सोधपुछ गरिरहेको उनले सुनाइन् । मायाका अनुसार विदेशीले आरोहणबारे धेरै सोधखोज गरिरहेका छन् । ‘नेपालीले भन्दा पनि अहिले हामीलाई विदेशीको एकदम धेरै सोधखोज भएको छ । यत्रो ७१ वर्षसम्म नेपाली महिलाहरु कहाँ थिए, अहिले कसरी चढे भनेर सोध्ने धेरै छन्,’ मायाले भनिन् ।

आउँदो हप्ता उनी धौलागिरी हिमाल (८१६७ मिटर) आरोहणका लागि जाँदै छिन् । मायाले सन् २०२४ भित्र विश्वका ८ हजार मिटर अग्लो १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् । अन्नपूर्ण सन् २०२० मै चढ्ने लक्ष्य भए पनि कोभिड–१९ ले रोकिएको उनले सुनाइन् ।

रातभर हिउँ पड्केको सुनिरहँदा मायासहितका आरोही निदाउन पाएनन् । ‘क्याम्प १ र २ बीचमा हिउँपहिरोको समस्या थियो । क्याम्प २ र ३ बीचमा झन् बढी त्यो समस्या थियो । क्याम्प ३ झनै खतरनाक थियो,’ मायाले हिमालमा रात काट्दाको दिन सम्झिइन्, ‘मुनि खाल्डो थियो, हामी माथिपट्टि टेन्टमा सुत्नुपथ्र्यो । राति हिउँ चर्केर पड्केको सुनिन्थ्यो । यहाँ सुत्न नपरे पनि हुन्थ्योजस्तो लाग्थ्यो ।’

मायासँगै अन्नपूर्णको सफल आरोहण गर्ने आरोही हुन्, पूर्णिमा श्रेष्ठ । निकै कठिन आरोहण भएकाले उनी सपनामा अन्नपूर्ण चढेर फर्किएको अनुभव भइरहेको सुनाउँछिन् । ‘३ वटा हिमाल चढेँ । अन्नपूर्णचाहिँ अहिले सम्झँदा पनि सपनामा चढेजस्तो लाग्छ । पलपलमा डर लाग्ने, के होला भन्ने लाग्ने भयो,’ फोटो पत्रकारसमेत रहेकी उनले सुनाइन् ।

कारोबार दैनिकमा सात वर्षदेखि कार्यरत पूर्णिमाले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा, २०१९ मा अमादब्लमको सफल आरोहण गरेकी थिइन् । अन्नपूर्णमा महिला नपुगेकाले कतिले चढ्न सक्ने÷नसक्नेमै आशंका व्यक्त पनि गरे । ‘कतिले महिला भएपछि सक्छौ र ?, गाह्रो हुँदैन ? भनेर सोध्थे,’ पूर्णिमा सुनाउँछिन्, ‘हिमालले महिला तिमी आयौ, तिमीलाई गाह्रो हुन्छ । पुरुष तिमीलाई सजिलो हुन्छ भन्दैन । आत्मविश्वास भए सकिन्छ ।’

२९ चैतमा क्याम्प २ (५५ सय मिटर) बाट उनीहरुको टोली चुचुरोतर्फ लागेको थियो । १ वैशाखमा चुचुरोमा पुग्ने लक्ष्य भए पनि प्राविधिक समस्याले २ दिन ढिलो सो टोली चुचुरोमा पुगेको हो । ७४ सय मिटर उचाइमा पुगेपछि डोरी पुगेन । पहिला हिउँ भएको ठाउँमा बरफ जम्दा डोरी नपुगेपछि क्याम्प ४ (७ हजार मिटर) फर्किनुप¥यो ।

त्यसरी ४ सय मिटर तल फर्किनुपर्दा पूर्णिमासहितका आरोहीको आँखा रसाए । ‘त्यतिबेला एकदम दुःखी भएँ । दिदी (पासाङ)लाई सुनाउँदा उहाँको आँखाभर आँसु भयो,’ पूर्णिमाले सुनाइन्, ‘हार स्वीकार्न सकिँदैन रहेछ भन्ने अनुभव भयो ।’ अन्नपूर्ण सफल आरोहण गरेसँगै अब पूर्वदेखि पश्चिमसम्मको हिमशृंखला ओगटेको बृहत हिमालय पदमार्ग हिँड्ने पूर्णिमाको योजना छ

तपाईको प्रतिक्रिया